चितवन, २० साउन - भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना केहिबेरमा सुरु हुँदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलसँगको सहमतिपश्चात् केहिबेरपछि मतगणनास्थल कभर्डहलमा मतगणना सुरु गर्ने तयारी गरिएको छ | अहिले गणकहरु मतगणनास्थलभित्र प्रवेश गर्ने क्रम चलिरहेको छ ।
पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो । मतपत्र च्यातिएसँगै रोकिएको मतगणना आज पुनःमतदानपछि सुरु गर्न लागिएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् ।