काठमाडौं, २१ साउन— गएराती डोटीमा भएको जीप दुर्घटनामा ९ जनाको मृत्यु हुँनुका साथै अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

डोटीको दिपायलबाट बोगटान गाउँपालिकास्थित चबराचौतारातर्फ जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप सोहि गाउँपालिकाको गगुडा भन्ने स्थानमा शुक्रबार राती ११ बजे दुर्घटनाग्रस्त भएको हो ।
जिप्रका डोटीका सुचना अधिकारी देवीदत्त जोशीका अनुसार घाइतेहरुलाई उपचारका लागि दिपालय ल्याइँदैछ ।
ज्यान गुमाउनेहरुमा बोगटानका गाउँपालिका १ का विष्णु बहादुर मगर, बुढो मगर, गोरख थापा, ललिता देबी पुन मगर, शशिराम पुन मगर, टेकबहादुर पुन मगर, भन्द्र बहादुर घर्ती मगर, भीम बहादुर घर्ती मगर र शिखर नगरपालिका १ का विष्णु नेगी छन् । विष्णु नेगी चालक हुन् ।
चिप्लो बाटोमा गाडी चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जीप भीरबाट करीब ६ सय मिटर तल खसेको छ भने दुर्घटनास्थल पुग्न दीपायलबाट ६ घण्टाको गाडीको यात्रा गर्नुपर्छ ।