
भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरा समेत सजिलै बिक्री भएका छैनन् ।
पहेंलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गरेका छन् ।
सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उनले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन २ जना मान्छे नै परिचालन गरेका छन् । ‘यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन,’ उनले भने ।
केरा उत्पादक संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताए । ‘यो समयमा मेरो मात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन तर भन्सार छलेर दैनिक १०–१५ गाडी केरा काठमाडौं भित्र्याइने गरेको छ,’ उनले भने ।
सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटक–पटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले १–२ महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन् ।
नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले छठपर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गरे ।
‘छठपर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छौं,’ उनले भने, ‘नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।’ उनले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताए ।
यतिखेर नेपालमा दैनिकरूपमा केरा आयात हुँदै आएको छ । ‘भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन,’ अध्यक्ष पन्तले भने ।
केरा उत्पादक संघ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताए । ‘सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैधरूपमा भित्रिएका छन्,’ उनले भने, ‘यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।’
उनले यस वर्ष धेरै पानी परेका कारण पनि समस्या भएको बताए । ‘चाडपर्वमा पनि धेरै पानी पर्यो, यसकारण यस वर्ष केराको खपत पनि कम भयो,’ उनले भने ।
चितवनमा ६०० बिघामा मात्रै हरियो (जिनाइन) केरा लगाएको घिमिरेले बताए । यो केरा एकैपटक पाक्ने भएकाले बजार नपाए सबै बारीमा नै कुहिने उनको भनाइ छ । केरा व्यवसायमा किसानको दिनप्रतिदिन आकर्षण भने बढ्दै गइरहेको उनले बताए । चितवनमा मात्रै ७०० किसानले व्यावसायिक रूपमा केराखेती गरिरहेको उनले जानकारी दिए । – कृष्ण आचार्य/रासस