
प्रहरीले ज्यान मार्ने प्रयास गर्ने ८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोकनजिक मंगलवार २ जनालाई ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । ४ वटा मोटरसाइकलमा आएका ८ जनालाई हत्या प्रयास गर्दै खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको जोरपाटी बस्ने ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २७ वर्षीय दोर्जे शेर्पा, दोलखाको शैलुङ गाउँपालिका–२ घर भई हाल गोकर्णेश्वर–६ बस्ने २९ वर्षीय विनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २८ वर्षीय विकास श्रेष्ठ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बस्ने २९ वर्षीय राजेन्द्र खत्री, दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बस्ने २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका बौद्ध बस्ने ३२ वर्षीय दिपेन लामा र काठमाडौं–७ चाबहिल बस्ने २६ वर्षीय करण डंगोल रहेका छन् ।
आरोपीहरूले ‘ज्यान मार्ने नियत’ले योजनाबद्ध तवरले पछाडिबाट धारिलो हतियार खुकुरी, बोतल, इँटा प्रहार गर्दा पीडितको टाउको, गोडा र शरीरका अन्य विभिन्न भागमा गम्भीर चोट पुर्याई घाइते बनाई फरार रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तत्कालै घटनास्थलमा खटिएका प्रहरीले घाइतेलाई उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएका थिए । घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली परिचालित भई अनुसन्धानका विविध विधि प्रविधिको प्रयोग गरी सुक्ष्म रूपमा अनुसन्धान गरिएको जनाइएको छ ।
प्रहरीले आरोपीको साथबाट ३ खुकुरी, प्र३–००२–०१० प ३७६५ नम्बरको मोटरसाइकल, प्र.३–०२–०११ प ४६४७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र घटनास्थलमा फेला परेका इँटा र च्यातिएर रक्ताम्मे भएका कपडाहरू बरामद गरेको छ ।
पक्राउ परेका ८ जना व्यक्तिउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसूरको दफा १८३ ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।