
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा छ प्रदेश सहभागी हुने भएका छन् । शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी आज दमौली आइपुगेका छन् ।
महिला बास्केटबल प्रतियोगिताअन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ । छ जना खेल्ने खेलमा छवटा प्रदेश र तीन जना खेल्ने खेलमा छ प्रदेशसहित आठ वटा टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । तीन जना खेल्ने खेलमा छ वटा प्रदेशका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिम सहभागी हुँदैछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका लागि बजार क्षेत्रमा स्वागतगेट, व्यानर टाँसिएको छ । शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ । झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ । तनहुँले पहिचानसहितको कार्यक्रम गर्ने बताउँदै अध्यक्ष पाण्डेले भने, “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्छौं ।”
खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको छ । खेलमैदानमा रङरोगन, सरसफाइ गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ । यहाँ रहेको दुई वटा मैदानमा खेल सञ्चालन हुनेछ ।
खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग बैठक बसिएको छ । रासस