ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कानूनी सुधार, क्षेत्रीय तहमा बजार विस्तार तथा स्वतन्त्ररुपमा विद्युत् नियम आयोग स्थापना गरेर नेपालमा जलविद्युत् क्षेत्रको विकासका लागि उपयुक्त वातावरण निर्माण गरिएको बताएकी छन् ।
स्वीट्जरल्याण्डको जेनेभामा यही अक्टोबर १३ देखि १५ सम्म आयोजना भएको ‘विकासोन्मुख देशमा जलविद्युत् क्षेत्रमा लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’लाई आज भिडियो सम्बोधन गर्दै उनले जलविद्युत् आयोजना निर्माण र सञ्चालनका क्रममा आउने जोखिम न्यूनीकरण गर्ने व्यवस्था गरिएको बताइन् ।
“जियोलोजिक तथा हाइड्रोलोजिकल समस्याका कारण परियोजनामा क्षति पुगेमा पाँच वर्ष उत्पादन इजाजत थप गर्ने प्रावधान राखिएको छ”, उनले भनिन्, “विदेशी मुद्रा विनिमयका कारण हुनसक्ने जोखिम न्यूनीकरण गर्न हेजिङको व्यवस्था गरिएको छ ।”
ठूला परियोजनाबाट अनुमानित प्रतिफल सुनिश्चितताको व्यवस्था गरिएको जानकारी दिँँदै मन्त्री भुसालले जलविद्युत् विकासमा निजी क्षेत्रको सहभागिता बढाउन यससम्बन्धी नीति, कर कानून सुधार गरिएको बताइन् ।