०६ असार २०८३, शनिबार

युवतीको प्रयोग गरेर सशस्त्रका असईको हत्या, भारत लगेर शव फ्याँकियो

युवतीको प्रयोग गरेर सशस्त्रका असईको हत्या, भारत लगेर शव फ्याँकियो

सिरहामा सशस्त्र प्रहरी बलका जवानले आफ्नै सिनियर अधिकृतको हत्या गरेको खुलासा भएको छ । छिन्नमस्ता बीओपीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको उक्त बीओपीमै कार्यरत जवान होमबहादुर खत्रीले हत्या गरेको अभियोगमा पक्राउ परेपछि यस्तो खुलासा भएको हो । 

सशस्त्र स्रोतका अनुसार यादवको जवान खत्रीले भारतीय युवती प्रयोग गरेर हत्या गरेको देखिएको छ । ‘के र किन हत्या गरे भन्ने अहिलेसम्म खुलेको छैन । तर हत्यामा संलग्न भएको देखिएकाले उनी पक्राउ परेका हुन्’, सशस्त्रका एक अधिकारीले लोकान्तरलाई बताए । 

भगवानपुर गाउँपालिका–२ का असई यादव दशैंमा बिदामा घर गएका थिए । दशैंको अर्को दिन छिन्नमस्ता आउट बोर्डर पोष्ट (बीओपी) डियुटीमा फर्किएका यादवको शव सीमाबाट केही पर भारतीय भूमिमा फेला परेको थियो । 
नग्न अवस्थामा खोलामा फेला परेको शव सशस्त्र प्रहरी कर्मचारी भएको पुष्टि भएपछि प्रकृया पुरा गरेर नेपाल ल्याइएको थियो ।

यो घटना भएपछि नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजविराज गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 
‘घटना भएपछि गणका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ, सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने, ‘सत्यतथ्य बुझ्नका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को नेतृत्वमा समिति गठन भएको छ । 

सशस्त्र प्रहरीले एआईजी चन्द्र प्रकाश गौतमको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको सहायक प्रवक्ता थापाले बताए । उनका अनुसार समितिले घटनाको सत्यतथ्य अनुसन्धान गरेर प्रतिवेदन तयार पार्नेछ भने नेपाल प्रहरीलाई घटनाको अनुसन्धानका लागि सहयोग पनि गर्ने छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर विवाद हुँदा हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार असई यादवको घाँटीमा डोरीले कसेको डाम र टाउकोमा चोट लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्