
सुनसरीको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट विलविजकभन्दा फरक सामानसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
बुधवार सशस्त्र प्रहरीले करीब ४१ लाख ५४ हजार रुपैयाँ बराबरको ५ सय ४० कार्टुन पेय पदार्थ र सय बोरा मैदा बोकेको दुई वटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको बिहीवार जानकारी गराएको हो।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बस्ने ४१ वर्षीय सभापति यादव र सिन्धुलीको कमलामाई नगरपालिका ५ बस्ने ३८ वर्षीय जितबहादुर थिङ छन् ।
विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको ना४ख ७८८३ र बा५ख ६९३५ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको उक्त सामानको विलविजकमा उल्लेख भएभन्दा फरक पाइएपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी हरिपुरले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।