०७ असार २०८३, आइतबार

अवसरको लागि पार्टी बदल्नेको सूचिः विजय गच्छदारदेखि उर्मिला अर्यालसम्म

कात्तिक २०, २०७४
अवसरको लागि पार्टी बदल्नेको सूचिः विजय गच्छदारदेखि उर्मिला अर्यालसम्म

काठमाडौँ, २० कात्तिक- उम्मेदवार बन्नैपर्ने लोभका कारण राजनीतिक दलका शीर्ष नेताहरू नै निर्वाचनको मुखमा दलबदलमा अघि देखिएका छन् । राष्ट्रिय राजनीतिमा चर्चामा रहने केही शीर्ष नेता हरेक निर्वाचनमा राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दै आइरहेका छन् ।

आजको राजधानी दैनिक लेख्छ- जनताको मत र आफूआबद्ध पार्टीको मुद्दासमेत बिर्सेर उनीहरू अवसरको प्राप्तिका लागि राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दै छन् । संविधानसभाका दुई निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा दलबदल गर्नेमा मधेसवादी दलका नेता अग्रस्थानमा छन् ।

दल बदल्ने र उम्मेदवार बन्नेमा सबैभन्दा अगाडि छन् विजयकुमार गच्छदार । कांग्रेसबाट राजनीति आरम्भ गरेका गच्छदार यसपटक कांग्रेसबाटै प्रतिस्पर्धामा छन् । सुनसरी–३ बाट उम्मेदवारी दिएका उनी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष थिए । निर्वाचनको केही समयअघि मात्रै उनले फोरमलाई कांग्रेसमा विलय गराए ।
राजनीतिक दल परिवर्तनमा छुटाउनै नहुने नाम हो रामेश्वर राय यादव । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–३ बाट निर्वाचनमा होमिएका यादव राजनीतिक दल परिवर्तन गर्नेमा प्रमुख नेता मानिन्छ । फोरम नेपाल हुँदै फोरम लोकतान्त्रिक प्रवेश गरेका यादव अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट सर्लाही–३ मा उम्मेदवार छन् ।

कपिलवस्तुका अभिषेकप्रताप साह दलबदलका अर्का खेलाडी हुन् । साह मधेस आन्दोलनसँगै कांग्रेस परित्याग गर्दै फोरम नेपालमा प्रवेश गरेका थिए । फोरम नेपालको तर्फबाट पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कपिलवस्तु–३ बाट निर्वाचन जितेका उनी अहिले पुनः कांग्रेसमै फर्किएर सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

दल बदल्ने अर्का चर्चित नेता हुन जंगीलाल राय । कांग्रेसबाट तमलोपा, राजपा हुँदै उनी पुनः कांग्रेसमै फर्किएका छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही– २ मा प्रतिस्पर्धा गरेका उनी अहिले सोही क्षेत्रबाट कांग्रेसको उम्मेदवार बनेका छन् । पार्टी जन्माउने, आफैंले जन्माएको पार्टी फोर्ने खेलाडीका रूपमा चिनिने उनी पुनः पुरानै पार्टी फर्किएका छन् ।

दल बदल गर्दै उम्मेदवार हुनेमा अर्का चर्चित नेता शिवपूजन यादव हुन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाका तर्फबाट उनी सर्लाही–४ बाट उम्मेदवार थिए । यसपटक उनी सोही क्षेत्रबाट माओवादी केन्द्रका तर्फबाट प्रतिस्पर्धामा छन् । मधेस मुद्दामा खरो उत्रिने राष्ट्रिय राजनीतिमा चर्चित नेता हृदयेश त्रिपाठी यसपटक सूर्य चिह्न लिएर चुनावी मैदानमा छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट उम्मेदवार भएका त्रिपाठीले राजपा त्यागेर स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन् । स्वतन्त्र राजनीतिक समूह गठन गरेर उनी वाम गठबन्धनसँग चुनावी तालमेलमा छन् । विगतमा नवलपरासी–४ र ६ बाट चुनाव लड्दै गर्दा उनी क्रमशः सद्भावना र तमलोपा पार्टीमा थिए ।
एउटै पार्टीमा नटिक्ने अर्का नेता रामचन्द्र झा हुन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा धनुषा–१ मा एमालेका तर्फबाट प्रतिस्पर्धा गरेका झा माओवादी केन्द्र हुँदै केही समय नयाँ शक्ति पार्टीमा आबद्ध भए । यसपटक उनी धनुषा–२ मा माओवादी केन्द्रका तर्फबाट प्रतिस्पर्धामा छन् ।
दलबदल गर्नेमा पर्साका महिला नेतृ उर्मिला अर्याल पनि पर्छिन् । एमाले छोडेकी उनी अहिले माओवादी केन्द्रमा छिन् । पहिलो संविधानसभा निर्वाचनमा पर्सा–४ मा एमालेबाट उम्मेदवार बनेकी उनी दोस्रो संविधानसभा र २१ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवार छिन् ।

salt training

कमेन्ट गर्नुहोस्