
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
देशकै ठूलो भनेर दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने डा. भट्टराईले बताए । उनले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औँल्याए । उनले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताए ।
‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुग्यौं । सबैले आत्मसमीक्षा गर्नु जरुरी छ । अहिले आफू तीन पटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने आफूतिर नहेर्ने उपदेश दिने ठूला कुरा गर्ने अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिब, निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन’, डा. भट्टराईले भने, ‘नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ । विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’