
गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले नेपाली बाबुआमाबाट जन्मिएका सन्तानलाई नागरिकताविहीन हुन नदिनको लागि नागरिकता विधेयक ल्याइए पनि गलत प्रचार गरी राजनीतिकरण गरिएको जिकिर गरेका छन् ।
उनले बाहिर हल्ला भएजस्तो विदेशी र अंगिकृतलाई नागरिकता दिनका लागि विधेयक नल्याएको उल्लेख गर्दै अनावश्यक अफवाह फैलाइएको दाबी गरे । कांग्रेस केन्द्रीय सदस्य एवं रुपन्देही–३ प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवारसमेत रहेका खाणले शुक्रवार भैरहवामा वडास्तरका प्रचार–प्रसार कार्यालयहरू उद्घाटन गर्दै नागरिकता विधयेकले मुलुकलाई फिजी, सिक्किमीकरण गर्छ भन्ने जस्ता अफवाह फैलाउनुु राष्ट्रियता कमजोर पार्नु बाहेक अरु नभएको बताए ।
‘नेपालको संविधानको धारा ११ को उपधारा ३ मा संविधान जारी हुँदाका बखत नागरिकता पाएका बाबुआमाका छोराछोरीले वंशजको नागरिकता पाउने उल्लेख छ । तर, विधेयकमा त्यो ब्यवस्था नभएकाले सबै दलको सहमतिमै विधेयक ल्याइएको हो’, उनले भने, ‘संविधानमै ब्यवस्था गरेको कुरा लागू गर्दा कसरी राष्ट्रघात हुन्छ ? त्यसैले नागरिकताविहीन नेपालीमाथि कसैले खेलवाड नगरौँ ।’