०४ साउन २०८३, सोमबार

कांग्रेसको घोषणापत्रमा मंसिर ४ पछि सरकार कसरी अगाडि बढ्छ भन्ने कुरा समेटिने

कांग्रेसको घोषणापत्रमा मंसिर ४ पछि सरकार कसरी अगाडि बढ्छ भन्ने कुरा समेटिने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनाउँदै गरिएको घोषणापत्रको सम्बन्धमा छलफल भएको छ । शुक्रवार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको तर्फबाट बन्दै गरेको घोषणापत्रको सम्बन्धमा छलफल भएको हो । 

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको थियो । बैठकमा संयोजक शर्माले घोषणापत्रको सैद्धान्तिक पक्षका बारेमा कुरा राखेको सह–महामन्त्री जीवन परियारले जानकारी दिए । त्यस्तै घोषणापत्र मस्यौदा उपसमितिका संयोजक डा. स्वर्णिम वाग्लेले पनि घोषणापत्रको संक्षिप्त सारको विषयमा कुरा राखेका थिए । 

बैठकमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यगरी १२ जनाले घोषणापत्र निर्माणको सम्बन्धमा सुझावहरू दिएको पनि सह–महामन्त्री परियारले बताए । 

‘सुझावसहित यो मस्यौदा समितिले यसलाई अन्तिम रूप दिएर छिटोभन्दा छिटो हामीले यसलाई सार्वजनिक गर्ने प्रतिबद्धता पनि नेपाली कांग्रेसले गरेको छ । मुख्यकुरा हामीले यो घोषणापत्रमा के लाई बढी महत्व दिएका छौँ भने २०७२ सालमा काँग्रेसको नेतृत्वमा संविधान जारी भएको । त्यो संविधानको रक्षा गर्ने मूल नेतृत्व पनि नेपाली काँग्रेसले लिन्छौँ भन्ने कुरा हाम्रो प्रतिवद्धता घोषणापत्रमा पहिलो रूपमा आउँछ’, उनले भने, ‘विगतमा हाम्रो सरकारले ०४८ सालदेखि आजसम्म कांग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरेका महत्वपूर्ण विषयवस्तुहरु पनि हामी यो घोषणापत्रमा संक्षिप्तमा राख्नेछौँ । मंसिर ४ गतेपछि हाम्रो सरकार अगाडि बढ्छ भन्ने पनि जनताको बीचमा हामी सार्वजनिक गर्नेछौँ ।’

घोषणापत्र तयारी समितिले डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको घोषणापत्र मस्यौदा उपसमितिले घोषणापत्र लेखनको काम तीव्र गतिमा गरिरहेको उनले बताए । उपसमितिमा केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, नेताहरू गेजा शर्मा वाग्ले, महासमिति सदस्य डा. कृष्ण पौडेल, युवा नेता प्रताप पौडेल, नेता प्रिति मण्डल र सदस्य सचिवको रूपमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले काम गरिरहेको सह–महामन्त्री परियारले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्