०२ साउन २०८३, शनिबार

प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी : निर्वाचन बिथोल्ने दुष्प्रयास दिवास्वपना हाे

प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी : निर्वाचन बिथोल्ने दुष्प्रयास दिवास्वपना हाे

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले आयोगले निर्वाचन कानूनअनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्‍यो भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेतसमेत गराए । 

शुक्रवार आयोग कार्यालयमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न आग्रह गरे । 

‘हामी कसैको निगरानी गर्दैनौंँ । हाम्रो गरिदिनोस् भन्छौँ । खबरदारी गरिदिनोस् भन्ने हामीले पटकपटक भनिराखेका छौँ । यो निर्वाचनको स्वच्छता, मैले तपाईंहरूलाई भनेको छु, हामी निर्वाचन मात्रै गर्दै छैनौँ । हामी लोकतन्त्रलाई थप सुदृढ गर्दैछौँ । हामी जनताको बहुदलीय प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीलाई अझ मजबुत बनाउने अभ्यासमा छौँ’, उनले भने, ‘तसर्थ, यो अभ्यासलाई कुण्ठित हुने ढंगका र निर्वाचन आयोगलाई खुद्रा मसिना कुरामा अलमल्याएर कतै निर्वाचनको स्वच्छता, भंग गर्न सकिन्छ कि भन्ने दुस्साहस यदी कसैले राखेको छ भने मैले यता भनौं–त्यो दिवा स्वप्न हो । त्यतातिर नलागे हुन्छ । म यहीँबाट हार्दिकतापूर्वक अनुरोध गर्दछु ।’ 

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रेस स्वतन्त्रता हनन् गर्ने गरी आयोगले केही नगरेको प्रष्ट पारेका छन् । ‘मैले र हाम्रो टिमले प्रेस काउन्सिल ऐन, २०४८ पनि पढेको छ । प्रेस काउन्सिल गठन भएको छ । र, क्रियाशील भएको छ भन्ने पनि बुझेको छु । प्रेस काउन्सिलले के–के काम गर्छ भन्ने पनि जानेको छ । र, यो बेलामा निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित विषयलाई समेत मध्यनजर गरेर प्रेस काउन्सिलले अझै गम्भिरतापूर्वक आफ्नो भूमिका निर्वाह गरिदियोस् भनेर हामी आग्रह गर्दछौँ’, उनले भने, ‘तर, निर्वाचनसम्बन्धी कानूनले कुनैपनि निकायलाई आयोगले निर्देशन गर्नसक्ने अधिकार दिएको छ । हामी त्यसको पालना गर्छौं । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुनेछैन । आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने प्रयास नगरियोस् ।’ 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले निर्वाचन कानून र संवैधानिक मूल्यमान्यता बमोजिम निर्वाचनको कार्य सम्पादन गर्नका लागि विभिन्न निकायहरुलाई निर्देशन दिनसक्ने व्यवस्था रहेको पनि स्मरण गराए । 
 

salt training

कमेन्ट गर्नुहोस्