
अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा नेपाली भाषी समुदायको भलिबल महोत्सव शुरू भएको छ ।
अमेरिकाका ९ वटा राज्यबाट पुरुष र महिला खेलाडीका टीम महोत्सवमा भाग लिन कोलम्बस पुगेका छन् ।
अक्टोबर १५ तारिख शनिवारदेखि २ दिनसम्म जारी रहने भलिबल महोत्सव अमेरिकामा नेपालीभाषी बीच सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा हो ।
परोपकारी संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनको आयोजनामा आकर्षक पुरस्कार राशि सहितको महोत्सवमा पुरुष र महिला गरेर २९ टीमले प्रतिस्पर्धा गरिरहेको खेल आयोजक समितिका संयोजक दिपेश प्रधानले बताए । प्रतिस्पर्धामा न्यूयोर्क, मेरिल्याण्ड, मिनीसोटा, ओहायो, टेक्सास, केन्टकी, नर्थ क्यारोलिना, भर्जिनिया र पेन्सिलभेनिया राज्यबाट नेपालीभाषी युवायुवतीका टीमले सहभागिता जनाएको प्रधानले जानकारी दिए ।
उनका अनुसार विजयी पुरुष टीमलाई ८ हजार ५०० अमेरिकी डलर र उपविजेतालाई ६ हजार ५०० अमेरिकी डलर पुरस्कार राखिएको छ । त्यसैगरी विजेता महिला टीमलाई ३ हजार ५००, उपविजेतालाई २ हजार ५०० र तेस्रो हुनेलाई १ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
अमेरिकाको कोलम्बस शहरमा मुख्यालय रहेको परोपकारी संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शुरू हुने खेलको उद्घाटन ओहायो स्टेटका रिप्रिजेन्टेटिभ मार्क जोन्सोन र फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्तरूपमा एक समारोहबीच गर्नेछन् ।
अमेरिकी पूर्वीय समयअनुसार शनिवार बिहान ९ बजे (नेपाली समय साँझ) उद्घाटन हुने खेलमा पुरुषतर्फ २१ टीम प्रतिस्पर्धा गर्दैछन् भने महिलातर्फ ८ वटा टीमको प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा न्यूयोर्कबाट रिजउड नेपाली समाज, म्याग्दी समाज र टीम बफेलो सहभागी छन् ।
मिनीसोटा राज्यबाट युनाइटेड मिनीसोटा, बिवाइएससी मिनीसोटा, बिवाइएससी गल्र्स भलिबल टीम, भर्जिनिया राज्यबाट रोनोक युनाइटेड र रोज टिम, मेरिल्याण्डबाट बेलमण्ट टीम, गुर्खाज टीम र बागलुङ टीम सहभागी भएका छन् ।
ओहायो राज्यबाट कोलम्बस यल्लो, सिनसिनाटी भलिबल क्लब, कोलम्बस ब्लू, कोलम्बस स्टार भिसी, सर्भाइभर्स, कोलम्बस फ्रेन्डसीप र फिप्टीस्टार युवा क्लबले सहभागिता जनाएका छन् भने टेक्सास राज्यबाट सुदूरपश्चिम नेपाली समाजका ए र बी टीम, केन्टकी राज्यबाट लेक्सिन्टन एएनकेए र केन्टकी एएनकेए वान साथै योङ स्टार लेडिज टीम प्रतिस्पर्धामा छन् ।
नर्थ क्यारोलिना राज्यबाट इभिसीएनसी टीम र पेन्सिलभेनिया राज्यबाट योङ ब्लड टिम, राइजिङ स्टार टीम र युनाइटेड गल्र्स टीम प्रतिस्पर्धामा छन् । फाउन्डेसनका प्रवक्ता केशव आचार्यले अमेरिकामा नेपालीभाषी समुदायमा खेलकुदका माध्यमबाट आपसी सौहार्दता वृद्धि गर्दै युवायुवतीलाई सत्मार्गमा लगाउन विभिन्न खेलका प्रतिस्पर्धा आयोजना गरिँदै आएको बताए ।
उनले २ हप्ताअघि मात्र अमेरिकाभरका ३८ टीमको सहभागितामा फूटबल प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए । – मधुकर अधिकारी/रासस