कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
केही वर्ष पहिले नेपालमा हातले बनाइएका फर्निचरको रजगज थियो । हात वा सामान्य हाते मशिनले नै बनाएका फर्निचरको व्यापक प्रयोग थियो, बजार पनि उस्तै ।
हाते मशिनले बनाइएका फर्निचरले बजार माग धान्न धौंधौं पर्थ्यो । अझै भन्नुपर्दा माग बराबरको पूर्ति हुने अवस्था नै थिएन ।
कतिपयले फर्निचर आवश्यक परेमा केही समय अगाडि नै माग गर्नुपर्थ्यो र पर्खनुपर्थ्यो, पालो कहिले आउला र घरमा फर्निचर राखौंला भनेर तर पछिल्लो समय बजार बदलिँदै गएको छ । केही वर्षयता नेपालमा फर्निचर उद्योग व्यवस्थित हिसाबले आउन थालेका छन् ।
‘ह्यान्डमेड’बाट ‘मशिनमेड’मा रूपान्तरण हुँदै गएको छ फर्निचर बजार । मुख्य बजार क्षेत्रमा पछिल्लो समय हातले बनाइएका फर्निचरभन्दा पनि मशिन प्रयोग गरी बनाइएका फर्निचरको चलन बढ्न थालेको छ । बजार बिस्तारै मशिनतर्फ आकर्षित हुँदै गएको छ ।
हातले बनाइएका फर्निचरलाई विस्थापन गर्दै मशिनबाट बनेका आकर्षक फर्निचर सस्तो मूल्यमा बिक्री वितरण हुँदै एक किसिमको क्रान्ति नै आएको छ । जसको श्रेय जान्छ ‘एभ्री रूम फर्निचर’लाई ।
ललितपुरको इमाडोलमा फर्निचर शोरूम छ, जहाँ चिटिक्क परेका, चिल्ला तथा आकर्षक फर्निचर पाइन्छन् । एक व्यक्तिलाई आफ्नो कोठाको सजावटका लागि कस्ता–कस्ता फर्निचर चाहिन्छन् ? टेबल, कुर्सी, टी–टेबल मात्रै होइन, कुनै विद्यालयका टेबल समेत एकैठाउँमा देखिन्छन् ।
सर्सर्ती हेर्दा फर्निचर आकर्षक लाग्छन् । विदेशबाटै ल्याएको हो कि जस्तो ! तर त्यसो पनि होइन । यी फर्निचरहरू नेपालमा नै बनाइएका हुन् ।
यो फर्निचर एभ्री रूमको शोरूम हो । अस्तव्यस्त फर्निचर बजारलाई व्यवस्थित एवं गुणस्तरीय बनाउने उद्देश्यका स्थापना भएको फर्निचर व्यवसाय हो एभ्री रूम । यसका सञ्चालक हुन् शितल रिजाल ।
आफ्ना पति सलिल पाण्डेको साथमा शितलले फर्निचर व्यवसाय शुरू गरेको करीब ८ वर्ष भयो । फर्निचर उद्योगमा प्रवेश गर्नुअघि शितल औपचारिक रूपमा लाइसेन्स प्राप्त चार्टर्ड अकाउन्टेन्ट हुन् ।
विराटनगरमा जन्मिएकी शितलले चार्टर्ड अकाउन्टेन्टकै रूपमा विभिन्न संघसंस्थामा लामो समय काम गरेर पछि फर्निचर उद्योगमा प्रवेश गरिन् । शितलले सन् २००४ मा सीए कोर्स औपचारिक रूपमा अध्ययन गरेर सकाएकी थिइन् ।
सीए अध्ययनकै क्रममा उनले ३ वर्ष टीआर उपाध्याय एण्ड कम्पनीमा काम गरेकी थिइन् । सीए अध्ययन सकिएपछि उनले यूएनडीपीको कन्ट्री अफिसमा फाइनान्सियल एनालिस्ट भएर ६ वर्षसम्म काम गरिन् ।
आफ्नो करिअरको उचाइमा पुग्दै गरेकी शितल एउटा गम्भीर चुनौतिको सामना गर्न तयार भइन् । अन्ततः उनले फर्निचर उद्योगमा प्रवेश गरिन् सन् २०१४ मा ।
सीएबाट कसरी फर्निचर उद्योगी बनिन् शितल ?
यूएनडीपीमा उनले सन् २०११ सम्म काम गरिन् । काम छाड्नुको मुख्य उद्देश्य थियो आफैं केही गर्नुपर्छ भन्ने । शितललाई आफू बुझ्ने उमेरको हुँदादेखि नै आफ्नै काम गर्ने हुटहुटी थियो । त्यही हुटहुटीलाई उनले यूएनडीपीको जागिर छाडेपछि निरन्तरता दिने सोच बनाइन् ।
विगत सम्झिँदै शितल भन्छिन्, ‘मलाई जहाँ जे गरे पनि आफ्नै नेतृत्वमा केही गरौं भन्ने थियो । सायद त्यसैको हुटहुटीस्वरूप नयाँ कामका लागि भनेर यूएनडीपीको जागिर छोडें ।’
उनले त्यसपछि आफ्नै नेतृत्वमा कन्सल्टिङ फर्म खोलिन् तर त्यसलाई निरन्तरता दिन भने सकिनन् । पारिवारिक कारणले त्यसलाई रोक्न नसकेको उनी सुनाउँछिन् ।
गर्भवती छँदा उनले केही समय कतै पनि काम गरिनन् । त्यही समयमा उनको घर बन्दैथियो ललितपुरको सुनाकोठीमा ।
विगत सम्झिँदै शितल भन्छिन्, ‘घर बनिसक्यो, फर्निचर इन्स्टल गर्नुपर्ने थियो, म बजार धाउँदा–धाउँदा हैरान नै भएँ ।’
उनले आफूले खोजेजस्तो फर्निचर बजारमा पाउन निकै मेहनत गर्नुपर्यो । ‘भनेको जस्तो फर्निचर बजारमा कतै नभेटिने, इन्स्टलेसन गर्न मात्रै हामीलाई ६–७ महिना लाग्यो,’ उनी भन्छिन्, ‘फर्निचर खोज्दाको दुःख पाएपछि मैले आफैं फर्निचर व्यवसाय गर्ने सोच राखें ।’
आकर्षक फर्निचरको खोजीमा बजारमा भौतारिएकी शितलले अन्ततः फर्निचर बजारलाई नै व्यवस्थित बनाएर अगाडि बढ्ने सोच राखिन् । त्यसपछि उनले श्रीमान् सलिललाई प्रस्ताव गरिन् ।
शनिवारको दिन थियो । उनले सलिललाई आफूले अब यूएनडीपी छाड्ने योजना बनाएको सुनाइन् । सलिल भन्छन्, ‘त्यो दिन एक्कासि यूएन छाड्ने कुरा गरिन्, म एकछिन त झसङ्गै भएँ ।’
पछि कुनै कम्पनीमा जाने होलिन् भन्ने सोच पनि आयो सलिललाई तर त्यसो पनि होइन रहेछ । शितलले आफ्नै व्यवसाय शुरू गर्ने योजना सुनाइन् ।
सलिल सम्झिन्छन्, ‘त्यतिखेर म निकै अक्क न बक्क भएको थिएँ । १ हप्तासम्म त मलाई के गर्ने, के नगर्ने भन्ने भयो, पूरै अन्योल ।’
‘तर १ हप्तासम्ममा मैले उनको कन्फिडेन्स देखें,’ सलिल सम्झिन्छन्, ‘त्यसपछि म पनि अगाडि बढेंं ।’ यूएनडीपीमा शितलले आकर्षक तलबमा फाइनान्सियल एनालिस्ट भएर काम गरिरहेकी थिइन् ।
तर एकाएक प्रतिष्ठित संस्थाको जागिर छाडेर व्यवसाय गर्ने योजना बुन्न थालिन्, जसलाई सहयोग गर्न थाले सलिलले । योजना बनेको करीब २ वर्षपछि सन् २०१४ मा शितलले फर्निचर व्यवसाय शुरू गरिन् ।
कस्टोमाइज्ड हुन खोज्दा कोरोनाको मार !
कम्पनीको सबै प्रक्रिया पूरा गरेर शितलले २०१४ बाट फर्निचर क्षेत्रमा औपचारिक रूपमै हात हालिन् । करीब २० लाख रुपैयाँ शुरूआती पुँजी लगानीमा ललितपुरको कुपण्डोलमा फर्निचर व्यवसाय शुरू भयो, कस्टोमाइज्ड फर्निचरको नाममा ।
जसको सञ्चालक शितल रिजाल थिइन् । उनलाई उनका पतिले साथ र सहयोग अनौपचारिक रूपमा गर्दै गए ।
सञ्चालनमा आएको करीब ४ वर्षमा शितलले मशिन जडान गरेकी थिइनन् । अर्थात् ‘ह्यान्डमेड’ फर्निचर नै उनले बनाउने र बिक्री गर्ने गरिन् । ‘त्यो काम अर्डर बेसिसमा गरिने गरियो,’ शितलले लोकान्तरसँग भनिन्, ‘शुरूआतमा हामीले हातबाट नै फर्निचर बनाएका हौं ।’
समयसँगै शितलले बजारबारे अपडेट हुने र आफूले पनि नयाँ–नयाँ तरिकाले काम गर्ने योजना बनाउँदै गइन् । उनलाई चुनौति थियो, ह्यान्डमेड फर्निचरबाट मशिनमेड फर्निचरमा रूपान्तरण हुनु ।
त्यो समयसम्ममा उनका पति औपचारिक रूपमै उनलाई साथ र सहयोग गर्न व्यवसायमा आइसकेका थिए । सन् २०१८ बाट उनका पति सलिलले व्यवसायमा औपचारिक रूपमा हात हाले । त्यसपछि २०१८ मै ताइवानको ६ ठूला मशिन प्लान्ट भारतबाट ल्याए उनीहरूले ।
शितलका अनुसार गुणस्तरीय तथा आकर्षक फर्निचरका लागि आवश्यक थियो मशिन । उनीहरूले सो आवश्यकता महसूस गरेर नै एकैपटक ६ वटा मशिन ल्याएका थिए । ‘त्यो समयसम्म आइपुग्दा लगानी १५ टाईम्स नै बढ्यो, हामी अब ह्यान्डमेडबाट मशिनमेडमा रूपान्तरणको तयारीमा लाग्न शुरू गरेका थियौं,’ सलिल भन्छन् ।
मशिन ल्याए पनि विस्तारका लागि सहज अवस्था थिएन । परिणामस्वरूप मशिन जडान गर्न नै करीब ८ महिना लाग्यो सलिल र शितललाई ।
मशिन इन्स्टलका लागि उनीहरूले ललितपुरको हरिसिद्धिमा जग्गा लिए । त्यहाँ करीब ८ महिना लगाएर मशिन जडान गर्ने काम भयो ।
सलिल भन्छन्, ‘हरेक मशिन ५–७ टनका थिए । त्यसलाई इन्स्टलेसन गर्न निकै चुनौती थियो । करीब ८ महिना त हामीलाई सबै सेटअप मिलाउन लाग्यो ।’ मशिन जडान सकियो तर उनीहरूका अगाडि समस्याको पहाड बनेर आइदियो कोभिड महामारी ।
कोरोना महामारीका कारण विश्व समुदाय नै आक्रान्त भइरहेको थियो । सलिल दम्पतीलाई पनि त्यो असर पर्ने नै भयो ।
मशिन जडान गरेर उनीहरूले २०७७ चैत १० गतेदेखि औपचारिक रूपमा उद्योग शुरू गरे तर चैत ११ गतेबाट सरकारले कोरोना महामारीको बढ्दो संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न ‘लकडाउन’ घोषणा गर्यो । लकडाउनको समयमा उनीहरूले उद्योग पूर्ण रूपमा बन्द गरे ।
जब सरकारले २ वर्षपछि बन्दाबन्दी हटायो, तब मात्रै फेरि कस्टोमाइज्ड फर्निचर सञ्चालनमा आयो ।
महामारीबाट तंग्रिँदै ‘एभ्री रूम’
शुरूमा शितलले कस्टमाइज्ड फर्निचरको नामबाट उद्योग शुरू गरिन् । उनले केही ‘स्पेसिफिक फर्निचरहरू’ बनाउँदै बिक्री गर्दै गइन् । महामारीपछि भने उनले फर्निचरलाई नयाँ ब्राण्ड दिने प्रयास गरिन्, जसको नाम थियो ‘एभ्री रूम’
शितलका अनुसार साना होस् वा ठूला, हरेक कोठाका लागि आवश्यक फर्निचर पाइने ठाउँको एउटै संगम हो ‘एभ्री रूम’ । उनले निकै सोचविचार गरेर फर्निचरमा नयाँ ब्राण्ड स्थापित गर्ने जमर्को गरिन् ।
एभ्री रूममार्फत अहिले अर्डर तथा रिटेल दुवै तरिकाले फर्निचर बिक्री गरिरहेकी छन् शितल ।
एमबीए पढ्न मन नलागेपछि सीए
विराटनगरमा जन्मिएकी शितलको बाल्यकाल आमा र दाइसँग बित्यो । सानै उमेरमा उनको बुवा चण्डीप्रसाद रिजालको निधन भयो ।
त्यसपछि आमा र दाइसँगै बसेर उनले १० कक्षासम्म भारतको दार्जिलिङमा अध्ययन गरिन् । भारतको ब्याङ्लोरमा १२ कक्षा अध्ययन गरेर २ वर्षपछि उनी फेरि नेपाल फर्किइन् र ग्राजुएसन काठमाडौंबाटै गरिन् ।
ग्राजुएसन सकिएपछि अब के पढ्ने ? शितल र दाइबीच सल्लाह हुने गर्दथ्यो । उनलाई कमर्स अध्ययन गर्न रुचि थियो । उनका दाइले उनलाई पढ्ने विकल्पहरू पेश गरे ।
एमबीए र सीए । त्यसमध्ये एमबीए गर्ने उनको रुचि थिएन । उनी भन्छिन्, ‘दाइले नै सीएबारे जानकारी दिनुभयो र मैले त्यता लागें ।’
दाइकै सल्लाहमा उनले सीए (चार्टर्ड एकाउन्टेन्सी) अध्ययन गर्ने भइन् । सीए पढाइ बढी खर्चालु र मेहनत बढी पर्ने भएर धेरैले गाह्रो विषय ठान्छन् । उनले लण्डनबाट एसीसीए गरिन् । त्यतिखेर उनले घरमै बसेर आफैं अध्ययन गरिन् ।
उनी भन्छिन्, ‘त्यो एउटा करेस्पोन्डेन्ट कोर्स हो । घरमा लण्डनबाट प्राक्टिकल बूकहरू झिकाएर सेल्फ स्टडीबाटै सीए पास गरें ।’
उनले सन् २००४ मा सीए कोर्स औपचारिक रूपमा अध्ययन गरेर सकाइन् । सीए गर्दा ३ वर्ष उनले टीआर उपाध्याय कम्पनीमा काम समेत गरिन् । त्यसपछि उनलाई यूएनडीपीमा काम गर्ने अवसर मिल्यो ।
उनले यूएनडीपीको कन्ट्री अफिसमा फाइनान्सियल एनालिस्ट भएर ६ वर्ष काम गरिन् । यूएनडीपीमा ६ वर्ष काम गरेर उनले आफ्नै व्यापार गर्ने भन्दै जागिर छाडिन् ।
शितलका अनुसार उनले सीए उत्तीर्ण गर्न १६ वटा पेपरको परीक्षा उत्तीर्ण गर्नुपर्थ्यो । सीए पढाइ महंगो मध्येको एक हो । जसमा उनले एउटा पेपरका लागि तत्कालीन ४० पाउन्ड खर्च हुने गरेको बताइन् । महंगोमा सीए अध्ययन गरेपछि उनले सम्भावना मात्रै देखिन् ।
उनी भन्छिन्, ‘सीए पढेपछि जुन बिजनेस गरे पनि युजफुल हुन्छ भन्ने थाहा थियो । यसले मलाई फर्निचर क्षेत्रमा पनि सहयोग गरेको छ ।’
फर्निचर व्यवसायमा आउनुअघि उनको आम्दानी निकै धेरै रहेको उनी सम्झिन्छिन् तर आम्दानीले उनलाई तान्न सकेन । उनले भनिन्, ‘जता पनि आफैं व्यवसाय खोल्न मन लाग्यो । विभिन्न क्षेत्रबाट अफर आएका थिए तर जानै मन लागेन ।’
हरिसिद्धिमा उद्योग, इमाडोलमा शोरूम
शितल र सलिलले सञ्चालन गर्दै आएको एभ्री रूम अहिले निकै अगाडि बढिसकेको छ । कम्पनीले फर्निचर हरिसिद्धिमा उत्पादन गर्दै आएको छ भने इमाडोलमा रहेको शोरूम तथा अन्य डिजिटल माध्यमबाट फर्निचर बिक्री गर्दै आइरहेको छ ।
अहिले उद्योगले माग भएजति फर्निचर उपलब्ध गराउन सक्ने अवस्थामा पुगेको शितल बताउँछिन् । शितल भन्छिन्, ‘अब माग भएमा जति पनि फर्निचर उपलब्ध गराउन सक्छौं ।’
उद्योगमार्फत आफूहरूले मेड इन नेपाल अभियानलाई समेत केन्द्रमा राखेर काम गरेको उनले बताइन् । उनी भन्छिन्, ‘कतिपयमा अझै पनि चीनबाट सस्तोमा ल्याउन सकिन्छ भन्ने सोच पाइन्छ तर अब हामी आइसकेका छौं । मेड इन नेपाललाई नै फोकस गरौं ।’
अहिले कम्पनीले फर्निचरलाई होम डेलिभरी समेत गर्ने गरेको छ । अर्डर भनेको ५–७ दिनसम्ममा घरमै पुगेर १ दिनमै इन्स्टल गर्ने गरिएको उनले बताइन् ।
उनी भन्छिन्, ‘टीम पनि गएको हुन्छ, एकै दिनमा इन्स्टल गरेर सेटअप गरेर काम पूरा हुन्छ ।’
बजार विस्तारको तयारी
कम्पनीले अहिले बजार विस्तारको तयारी शुरू गरेको छ । करीब ३ महिनाभित्रमा काठमाडौंमा आउटलेट खुलाउने योजना रहेको शितल सुनाउँछिन् । उनका अनुसार काठमाडौंको मुख्य चोकहरूमध्ये कुनै एकलाई प्राथमिकतामा राखेर आउटलेट विस्तार गरिनेछ ।
एउटा आउटलेट खोल्नका लागि करीब २५ लाख रुपैयाँभन्दा माथि लाग्ने उनको अनुमान छ । उनले काठमाडौंमा मात्र नभएर विराटनगरमा पनि आउटलेट खुलाउने योजना रहेको सुनाइन् । साथमा फ्रेन्चाइजको पनि योजना उनीसँग छ । ‘सन् २०२३ भित्रमा फ्रेन्चाइज मोडलमा जान्छौं,’ उनले भनिन् ।
एभ्री रूमको फर्निचर नै किन रोज्ने ?
एभ्री रूमको फर्निचर किन रोज्ने भन्नेबारे धेरै कारणहरू रहेको सलिल बताउँछन् । सञ्चालक सलिलका अनुसार एभ्री रूम कन्सेप्ट फर्निचर बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि अगाडि सारिएको हो ।
कम्पनीले आफूले उत्पादन गरेका फर्निचरहरूमा जर्मन फिटिङ प्रयोग गरेको छ, जसकारण फर्निचरहरू निकै आकर्षक, चिल्लो र टिकाउ रहेका सलिलको दाबी छ ।
उनी भन्छन्, ‘होल एक्सपेरियन्स नै हामीले शेयर गरिरहेका छौं । फिनिसिङ निकै राम्रो छ, कतै पनि तिखो वा धारिलो हुँदैन ।’ कम्पनीले फर्निचरहरूमा १ वर्षको वारेन्टी दिइरहेको छ ।
फर्निचर उत्पादनदेखि इन्स्टल गर्नका लागि कम्पनीमा ११ जना जनशक्तिहरू कार्यरत रहेका सलिलले जानकारी दिए ।
‘मल्टिनेसनल कम्पनीमा १ दशकको अनुभव सम्हालेर दुवै जना व्यवसायमा आएका छौं,’ उनी भन्छन्, ‘यस व्यवसायलाई व्यवस्थित र विश्वासिलो एवं गुणस्तरीय बनाएका छौं । त्यसकारण पनि ग्राहकले एभ्री रूमका फर्निचर रोज्ने गर्नुभएको छ ।’
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...