
नेकपा एमाले रूपन्देही प्रदेश सभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले जनतासँग प्रत्यक्ष जोडिएका योजना ल्याएर बुटवल क्षेत्रलाई नमूना बनाउने बताएका छन् । रूपन्देही–२ (२) का एमाले उम्मेदवार श्रेष्ठले यस अगाडि बुटवल नगरको नेतृत्व र सरकारमा रहँदा पनि दीर्घकालीन महत्वका काम गरेको बताउँदै जनताको आवश्यकताका आधारमा सन्तुलित र समानुपातिक विकासको मोडल तयार गरी बुटवलको समृद्धिको सारथी बनेर काम गर्ने आफ्नो योजना रहेको बताए ।
आइतवार बुटवलमा पत्रकारहरूसँगको छलफलमा निवर्तमान लुम्बिनी प्रदेशका मन्त्रीसमेत रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना र गरिबी निवारण अहिलेको आवश्यकता रहेको बताउँदै भौतिकसँगै सामाजिक विकासमा पूर्ण रूपमा ध्यान दिएर काम गर्ने उनको भनाइ थियो ।
‘प्रदेश सरकारको मन्त्री म ९९ दिन मात्र बने । त्यो बेला कोभिड–१९ को महामारीमा हामी अस्पतालमा अक्सिजनको दिगो व्यवस्थापन गरियो । बिरामीलाई निःशुल्क रगत, अस्पताल विकास समितिलाई पूर्णता काम गरियो । ती सबै काम अहिले पूर्णरूपमा लागू भएका छन’, उम्मेदवार श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार, औद्योगिक, पर्यटकीय क्षेत्र, कृषि उत्पादकत्वमा वृद्धि, शिक्षा, स्वास्थ्य तथा युवाहरूको रोजगारी वृद्धिको लागि एमाले नेतृत्व केन्द्रित त्यसैमा मेरो ध्यान छ ।’
यस क्षेत्रमा भौतिकसँगै मानवीय विकास पनि आवश्यक रहेको नेता श्रेष्ठको भनाइ छ । ‘प्रदेश भनेको योजना कार्यान्वन गर्ने थलो रहेको हो’, श्रेष्ठले भने, ‘संघीयतालाई बलियो बनाउँदै भ्रष्टाचारमुक्त प्रदेश, एन्टी क्रप्सन मुभमेन्टतर्फ हामी अगाडि बढ्नुपर्छ ।’
बुटवल आर्थिक राजधानी भएकोले यसलाई बलियो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको श्रेष्ठले बताए ।
एमालेलाई हराउन गठबन्धन गरिएको भन्दै उनले गठबन्धनभन्दा एमाले बलियो रहेको श्रेष्ठको दाबी थियो । ‘गठबन्धनले अनेक भ्रम फैलाएर मतदाता प्रभावित पार्न खोज्दैछ । जनताको अभिमत एमालेतर्फ छ । एमालेले विजय हासिल गर्छ’, एमाले लुम्बिनी प्रदेश उपाध्यक्षसमेत रहेको श्रेष्ठले भने ।
श्रेष्ठले आफूसँग प्रदेश सभाको विधायन समितिमा बसेर कानून निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाएको अनुभव रहेको बताए । उनले बुटवलको कर्णेल उजिरसिंह अटो भिलेज, मणिमुकुन्द सेन उद्यान (फूलबारी) स्थापना, तत्कालीन ज्योतिनगर पहिरोको रोकथाम र प्रभावितलाई उचित व्यवस्थापनको काम पनि आफ्नो पालामा भएको उनको भनाइ थियो ।