
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै उनले गठबन्धनमा आवद्ध दलहरू मिलेर अघि बढ्नुपर्ने बताए ।
उनले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरू एक हुन जरुरी रहेको बताए । देउवाले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको प्रष्ट पारे । उनले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताए ।
‘जो अहिलेको गठबन्धन बनेको छ, यसलाई स्थायित्व दिन आवश्यक छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले अहिले सबै पार्टीहरू एक हुन जरुरी छ । त्यसैले आज गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ । दोस्रो कुरा अहिलेको संविधान अत्यन्त समावेशी संविधान छ । त्यो संविधानमा सबै नेपालीहरू अटाउने ठाउँ छ । साथसाथै कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ । यो एउटा संस्कृतिको विकास भएको छ । मिलेर चुनाव लड्ने, मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने साथसाथै मिलेर गरिबी हटाउने’, देउवाले भने, ‘त्यो मौका आएको छ । यो हाम्रो लागि ठूलो मौका हो । र चुनौती पनि हो । त्यसैले चुनौतीको सामना गर्दै मौकाको सदुपयोग गरेर हामीले नेपाललाई सच्चा मानेमा गणतन्त्रात्मक, लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुछ ।’
उनले काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरू आपसमा मिलेर गठबन्धनलाई अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गरे ।