
काठमाडौंको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माइक्रोबस,भ्यान,ट्रिपर,हाईस,कार र टाटासुमो लगायतका २६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यसैगरी १५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
आज दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका २६ वटा सवारी साधनलाई कारवाही गरिएको र १५ वटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । आज भएको चेकिङमा १ सय ५५ वटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।
अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको थानकोट क्षेत्रमा खटिएको थियो ।