
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् ।
बैंक वित्तीय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पुर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महङ्गीले जनतामा समेत असर गरेको बताए ।
कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लले बताए ।
उनले भने,‘मुलुकको अर्थतन्त्रमा चौतर्फी दवाव परिरहेका बेला पछिल्लो समय भएको ब्याजदर बृद्धिले व्यवसायीलाई निकै आहात बनाएको छ।’
हाल विद्यमान स्प्रेड दरलाई ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरि कर्जाको आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा व्याजदर घट्ने अध्यक्ष मल्लको भनाइ छ ।
स्थानीय प्रदेश तथा संघीय सरकार अन्र्तगतका निकायहरुको खातामा रहेको पुँजिगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य बैंक मार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने अध्यक्ष मल्लले सुझाव दिए ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधी बढाउनुपर्ने भएपनि बढ्दो व्याजदरका कारण अर्थतन्त्रनै धरासायी हुने अवस्था सिर्जना भएको अध्यक्ष मल्लको भनाइ छ ।
साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिए ।
लुम्बिनीको पर्यटन प्रवर्द्धन, एवं कृषिको आधुनिकीकरण र यान्त्रीकरण मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
नेपाली औद्योगिक हव भैरहवा सेज भित्र उद्योगहरुको सहज तरिकाले स्थापना र सञ्चालन गरिनुपर्ने अध्यक्ष मल्लले बताए ।
भन्सार नाकालाई व्यवस्थित गरेर व्यापार सहजीकरण गर्न समेत अध्यक्ष मल्लले आग्रह गरे ।