
इलाका प्रहरी कार्यालय थारमारे सल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा पुरस्कृत भएका छन् ।
६७औँ प्रहरी दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक शाहीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरे । अपराध अनुसन्धानको क्षेत्रमा गरेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै मुख्यमन्त्री शाहीद्वारा प्रहरी निरीक्षक शाही पुरस्कृत भएका हुन् ।
यसअघि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर काम गरेका थिए । दैलेखको पश्चिम दुर्गममा पर्ने ठाटीकाँध गाउँपालिकामा जन्मिएका उनले सुर्खेतमा एक वर्ष कार्यरत हुँदा पनि अपराध न्यूनीकरणमा राम्रो भूमिका निर्वाह गरेका थिए ।