
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरू गरेको छ ।
बुधवार (कार्तिक २ गते) पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्न लागेको कम्पनीले सप्ताहव्यापी कार्यक्रम सोमवारबाट नै शुरू गरेको हो ।
कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम गर्दै आएको छ ।
यस्तै विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेसनरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएको कम्पनीले जनाएको छ ।
यस वर्ष पनि असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म सप्ताह व्यापी कार्यक्रम मार्फत सोही प्रकारका गतिविधिहरुलाई निरन्तरता दिइने जनाएको छ ।
कम्पनीले विद्यार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ ।
यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिकतामा राखिने पनि कम्पनीले जनाएको छ ।
त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।