
विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो ।
आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत र ८९ कास्य पदकसहित ३ सय ७० पदकसहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त ग¥यो । आर्मीले यस अघिका सातौँ र आठौँ संस्करणको उपाधिसमेत जितेको थियो ।
६४ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २ सय १८ पदकसहित शसस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो, ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १ सय ९५ पदकसहित नेपाल प्रहरी क्लब तेश्रो भएको छ ।
घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौँथो तथा प्रदेशहरूमध्ये पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत, ५७ कास्यसहित १ सय २० पदकसहित समग्रमा चौँथो भयो । बागमती प्रदेश २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदकसहित पाँचौँ स्थानमा रहेको छ ।
प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदकसहित छैँटौ भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य पदकसहित सुदूरपश्चिम प्रदेश सातौँ, एनआरएनए १० स्वर्ण, ९ रजत र ७ कास्यपदकसहित आठौँ, ६ स्वर्ण, २२ रजत र ४० कास्य पदकसहित लुम्बिनी प्रदेश नवौँ स्थानमा रह्यो । मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौैं स्थानमा रहेको छ ।
मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य पदक जितेको हो । शुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ टेनिसमा एक/एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो ।