प्रधान सेनापति प्रभुराम शर्मा दुई दिने कार्यक्रम बनाएर बिहीबार पोखरा पुगेका छन् । कार्यक्रम अनुसार उनले पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उक्त पृतनामा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरूसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा जानकारी हासिल गरेका थिए ।
निरीक्षणकै क्रममा उनले विजयपुर ब्यारेकको निरीक्षण गर्दै सकलदर्जालाई सम्बोधन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बिहीबार नै प्रधान सेनापति शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगिताका क्रममा दुर्घटना भई दिवंगत भएका सेनाका खेलाडी निसिम थापालाई श्रद्धाञ्जली दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१२, हस्पिटलचोकस्थित निवासमा गई शर्माले थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । तत्पश्चात, शर्मा पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा सहभागी भएका थिए ।
शर्माले मिति शुक्रबार बाग्लुङस्थित नं. २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।