
प्रदर्शनरत चलचित्र ‘दुई नम्बरी’का निर्मातालाई चलचित्र विकास बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डले चलचित्र निर्माण कम्पनी रेड बर्ड प्रोडक्शनका नाममा पत्र लेख्दै स्पष्टीकरण सोधेको हो ।
‘दुई नम्बरी’का निर्माताले केहीदिन अघि चलचित्रको ५ मिनेटभन्दा बढी दृश्य काँटछाँट गरेको र ध्वनीमा पनि परिवर्तन गरेको बताएका थिए । शुक्रवारदेखि हलमा नयाँ भर्सन प्रदर्शनमा आउने उनको भनाइ थियो । सोही विषयलाई लिएर विकास बोर्डले स्पष्टीकरण सोधेको हो । ‘केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएको सो चलचित्रलाई काँटछाँट गरिएको/सम्पादन गरिएको हो वा होइन् ? सो सम्बन्धमा २ दिनभित्र स्पष्ट गरी जानकारी गराउनुहुन अनुरोध छ’ विकास बोर्डले निर्माण कम्पनीलाई पठाएको पत्रमा भनिएको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुई नम्बरी’ असोज २१ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।
