
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको लागि सत्ता गठबन्धन अपरिहार्य रहेको बताएका छन् । उनले गठबन्धनप्रति कुनै पनि बहानामा शंका, उपशंका नगर्न आग्रह गर्दै परिवर्तन र संविधान बचाउनको लागि ठूलो हृदयका साथ निर्वाचनमा लाग्न आग्रह गरे ।
सत्ता गठबन्धनले शुक्रवार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै देउवाले अहिलको गठबन्धन बचाउन आवश्यक रहेको बताए । ‘देश अहिले महत्वपूर्ण मोडमा उभिएको छ’ सभापति देउवाले भने, ‘ठूलो लडाइँबाट ल्याएको संविधान, गणतन्त्र र संघीय व्यवस्थालाई सिध्याउने प्रयास भइरहेको छ । प्रतिगमनकारी शक्तिबाट अहिलको अवस्थालाई बचाउनुपर्छ । त्यसैले कही कतै भ्रम सिर्जना गर्न हुँदैन ।’
‘अहिले हाम्रो गठबन्धनबाट मलाई प्रधानमन्त्री बनाइएको हो’ सभापति देउवाले संवोधनका क्रममा भने, ‘गठबन्धनप्रति शंका गर्ने ठाउँ दिनुहुँदैन । नेपालमा परिर्वतन बचाउन पनि गठबन्धन आवश्यक छ ।’ गठबन्धनको कारण सबैलाई उम्मेदवार बनाउन नसकेको बताउँदै देउवाले टिकट नपाएको भन्दैमा अहिलेको सिस्टम गुम्न दिन नहुने बताए । भोलि पनि गठबन्धनकै सरकार बन्ने बताउँदै एक भएर जान सबैलाई देउवाले आग्रह गरे ।
‘लालसलाम पनि हामी हौँ । जय नेपाल पनि हामी हौँ’, देउवाले भने, ‘उदार हृदयका साथ कांग्रेसले टिकट पाएको ठाउँमा माओवादीका साथीहरूले जिताउन लाग्नुहोस् । माओवादीले पाएको ठाउँ कांग्रेससहित सबै दल लाग्नुहोस् अन्य दलले पाएको ठाउँमा पनि सबै एक अर्काका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’