
५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेचेको आरोपमा पक्राउ परेका ४ जनालाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो ।
उद्योगले वीरगञ्जको अञ्जनी क्यारियर्समार्फत सिन्धुली कमलामाई नगरपालिकामा रहेको रोबिन सप्लायर्ससम्म लैजान प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर पठाएको थियो । तर, १ लिटरका १४ हजार ५६० र आधा लिटरको ५ हजार ९१५ पोका तेल ट्रकमा लोड गरेर पठाइए पनि तेल सिन्धुली पुगेको थिएन । सिन्धुलीमा दुई दिनसम्म तेल नपुगेपछि उद्योगले खोजी गरिदिन भन्दै असोज ३० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको थियो । बारा प्रहरीले उजुरी गरेको ५ दिनपछि ४ जनासहित ट्रक र केही परिमाणमा तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।
प्रहरीले ट्रक चालक नुवाकोटको शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बस्ने ४३ वर्षका सुकमान तामाङलाई कल ट्रेस गरी कात्तिक ४ गते पक्राउ गरेको थियो । तामाङले दिएको बयानका आधारमा घटनामा संलग्न अन्य ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बोगटीले ट्रक चालक तामाङले सिन्धुली पुर्याउनुपर्ने तेल बाटोबाटै कुरा मिलाएर रौतहटको गौर नगरपालिका १ का रमेश कुमारको घरमा भण्डारण गरेको भेटिएको पनि जानकारी दिए ।
प्रहरीले भण्डारण गरेको घरबाट ट्रकमा लोड गरिएको भन्दा कम ३ हजार १ सय १७ लिटर मात्रै तेल फेला परेको छ । बाँकी तेल उनीहरुले बिक्री गरिसकेको प्रहरीले अनुमान गरेको छ । प्रहरीले रमेशका साथै रौतहटकै वृन्दावन नगरपालिका ६ हर्साहाका ३८ वर्षीय शेष कलाम र सोही गाउँपालिका ८ का ४७ वर्षका वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।