१९ असार २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

फेरिएको रुपन्देही– २ को चुनाव : गठबन्धनको समर्थनमा को बन्ला विष्णु पौडेलको प्रतिस्पर्धी ?

कात्तिक ७, २०७९
फेरिएको रुपन्देही– २ को चुनाव : गठबन्धनको समर्थनमा को बन्ला विष्णु पौडेलको प्रतिस्पर्धी ?

हरेक निर्वाचनमा चर्चामा आउने गर्छ, बुटवल । रूपन्देही–२ मा पर्ने बुटवल एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा उनले चुनाव लड्दै आएको क्षेत्र हो ।

एमालेका पूर्व कार्यकर्ता तथा एकीकृत समाजवादीका जिल्ला नेता राजु गुरूङ ६ महिना अगाडिदेखि नै नेता पौडेलसँग संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भनेर घोषणा गर्दै हिँडे ।

सत्तारूढ गठबन्धनले रूपन्देही– २ मा पौडेलसँग चुनावी भिडन्तका लागि गुरुङलाई नै अगाडि सार्‍यो । 

बैंकिङ कसूरमा कालोसूचीमा परेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेसँगै बुटवल फेरि एकपटक चर्चामा आएको छ ।

पौडेलसँग प्रतिष्पर्धा गर्न आँटेका गुरुङ अयोग्य भएपछि रुपन्देही– २ मा सत्तारुढ गठबन्धन उम्मेदवारविहीन भएको छ । 

एमालेको भावी नेतृत्वका लागि मुख्य दाबेदारका रूपमा हेरिएका उपाध्यक्ष पौडेलले पाँचौपटक सांसद बन्न वाकओभर पाएको चर्चा गर्न थालिएको छ । पौडेलसँग प्रतिस्पर्धाका लागि गठबन्धनले अब कसलाई समर्थन गर्ला भन्ने चासोको विषय बनेको छ । 

३० वैशाखमा भएको पालिका चुनावमा बुटवल उपमहानगरपालिकामा प्रमुखसहित अधिकांश वडा जितेको कांग्रेसलाई रोकेर प्रतिनिधिसभाको टिकट हात पार्नुमा नेकपा एसले ठूलै सफलता ठानेको थियो । 

कांग्रेस महासमिति सदस्य युवराज गिरीले गठबन्धनबाट गुरुङलाई टिकट दिने विषयमा छलफल हुँदा विवादास्पद बन्न सक्ने संकेत गरेका थिए । 

यसअघि पौडेलसँग प्रतिस्पर्धा गरेका गिरीले भने, ‘मलाई प्रतिनिधिसभामा टिकट दिएर गुरुङलाई प्रदेशसभामा अगाडि सारौं भनेका थिएँ, तर मेरो कुरालाई नजरअन्दाज गरियो ।’ 

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल बाँकी रहेका उम्मेदवारमध्ये जो राम्रो छ, उसलाई समर्थन गरेर जान सकिने बताउँछन् । 

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले कसलाई समर्थन गरेर जाने भन्ने विषयमा अझै निचोडमा नपुगिएको बताए ।

अब गठबन्धनसामु तेस्रो व्यक्तिलाई समर्थन गरेर जानेबाहेक अर्को विकल्प नदेखिएको सभापति खाँणको भनाइ छ ।   

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विक गठबन्धनको बैठकले गर्ने निर्णयअनुसार अघि बढ्ने बताउँछन् ।

गुरुङका साथै हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका कमल भुसाल (निकोलस) को उम्मेदवारी पनि खारेज हुनुले अब मतदातामा पौडेलबाहेक अन्य विकल्प साँघुरिँदै गएको विश्लेषकहरू बताउँछन् । यद्यपि भुसालको बारेमा सर्वोच्चले के गर्ला भनेर १५ कात्तिकसम्म कुर्नुपर्ने देखिन्छ ।

पौडेलसँग केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुने देखिन्छ । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बीपीकी नमादेवी गौतम जैसी, मंगोल नेसनल अर्गनाइजेसनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् । 

यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार रहेका छन् । यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्याललाई उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो ।

कमल भुसाल उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी १५ कात्तिकमा छ । यदि उनको उम्मेदवारी कायम भए १६ जना हुनेछन् । स्वतन्त्र पार्टीका गणेश पौडेलले आफूलाई समर्थन गर्न गठबन्धन दलहरूलाई अपिलसमेत गरेका छन् । 

बुटवलबाटै २०६४, २०७० र २०७४ को निर्वाचन लगातार जितेका पौडेलले रूपन्देही– २ बाट प्रतिनिधिसभाका उम्मेदवार पौडेलको बलियो प्रतिस्पर्धी नभएपछि पौडेललाई अबको चुनाव सहज हुने देखिन्छ । 

यो क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिका ६ र सैनामैना नगरपालिका ४ गरी २३ वटा वडा पर्छन् । 

राजनीतिक विश्लेषक ऋषि आजाद रुपन्देही– २ मा नेपाली कांग्रेसकै उम्मेदवार भएको भए पौडेलसँग रोचक प्रतिस्पर्धा हुन सक्ने तर अन्य दलको जोसुकै उम्मेदवार भए पनि फरक नपर्ने अवस्था रहेको बताउँछन् । 

‘यस्तो अवस्थामा गठबन्धनले साना दललाई समर्थन गर्दैमा पौडेललाई फरक पर्दैन तैपनि चुनाव हो औपचारिकता त पूरा गर्नैपर्‍यो,’ उनले भने । 

लेखक तथा विश्लेषक हरि ज्ञवाली पौडेलको विजयी यात्रा लगभग पक्का जस्तै देख्छन् । ‘पौडेलसँग प्रतिस्पर्धा गर्ने प्रमुख दल वा व्यक्ति नभएपछि उनी सर्वाधिक मतान्तरमा विजयी हुने सांसद बन्ने सम्भावना छ,’ ज्ञवालीले भने, ‘पौडेल रुपन्देही जिल्ला मात्रै नभई समग्र लुम्बिनी प्रदेशको समृद्धि, विकास र निर्माणका रोलमोडेल र विकासवादी नेता हुन् । यस क्षेत्रका विकासका योजनाकार, चिन्तक र अभियन्ता पनि हुन्,’ ज्ञवालीले भने । 

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि बजेट व्यवस्थापन, मोतीपुर औद्योगिक क्षेत्रको पहल, सिद्धबाबा सुरुङ मार्ग र वैकल्पिक मार्गको परियोजनामा उनको उल्लेख्य भूमिका छ ।

तिलोत्तमामा टिचिङ अस्पतालको अवधारणा, बजेट विनियोजन र  रुपन्देहीको समग्र विकास एवं उन्नतिका लागि उनले काम गरेका छन् ।

बुटवल–नारायणघाट सडक ६ लेन सडक, बुटवल–गोरूसिंगे ६ लेन सडक, बुटवल–पोखरा सडक डेडिकेटेड डबल लेन पनि उनले अघि सारेका परियोजना हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा उनको भूमिका अनि कर्साघाटमा कृषि उपज केन्द्र मेघा प्रोजेक्टका लागि उनले गरेको योगदान अतुलनीय छ । पौडेलले हरेक चुनावमा नयाँ प्रतिस्पर्धी पाउँदै आएका छन् । 

यही क्षेत्रबाट पौडेलले २०७० मा तत्कालीन वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत पराजित गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्