
गृहमन्त्री बालकृष्ण खाँणले मुलुुकको करीब मध्यभागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज)लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका आयोजना तथा सम्पदा रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनले बताए ।
रुपन्देहीको ३ नम्बर क्षेत्रबाट ५ दलीय गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले गठबन्धनद्वारा भैरहवामा मंगलवार आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने बताए ।
‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी वृद्धि लगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन,’ गृहमन्त्री खाँणले भने, ‘चुनावपछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ, मैले ध्यान दिन्छु, रुपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुने छैन ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रुबाहकका साथै कार्गो सेन्टरका रूपमा विकसित गरेर भैरहवालाई आर्थिक हब बनाउने अवसर पनि रहेको उनले बताए । गृहमन्त्री खाँणले विदेशबाट हवाई मार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि विमानस्थलबाट पठाउन वातावरण सिर्जना हुँदा हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने विश्वास दिलाए ।
अर्को प्रसंगमा उनले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन ५ दलीय गठबन्धन बनेको दाबी गरे । ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ,’ उनले भने, ‘संविधानको पालना गर्दै यहाँभित्र भएका कमी–कमजोरी संशोधन गर्न पनि निर्वाचनपछि गठबन्धनकै सरकार आवश्यक छ ।’