०२ साउन २०८३, शनिबार
प्रतिनिधि सभा निर्वाचन २०७९

स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिए संघीयता आवश्यक छैन : नेमकिपा

कात्तिक ८, २०७९
स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिए संघीयता आवश्यक छैन : नेमकिपा

नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा एक औपचारिक कार्यक्रम गरी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गरेका हुन् । 

घोषणा पत्रमा नेपालको सम्पत्ति र पुँजीलाई विदेशमा लान नपाउने ऐन, कानून तत्काल बनाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै अपराधीहरूको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्नेहरूलाई कानून उल्लंघन गरेको अपराध मानी दण्ड, जरिबाना, असुल उपर गराउने गरी नयाँ विधेयक निर्माणका लागि पार्टीले आवाज उठाउने उल्लेख गरिएको छ । 

घोषणापत्रको सारसंक्षेप प्रस्तुत गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ठेक्का लिएर काम नगर्ने ठेकेदारहरूलाई कडा सजायका साथमा ठेक्काबाट वञ्चित गर्ने ऐन, कानून बनाउन आफ्ना प्रतिनिधिहरूले संसदबाट आवाज उठाउने बताए । उनले शिक्षा क्षेत्रको बजेट बढाउनका लागि पनि आवाज उठाउने उल्लेख गरे । त्यस्तै उनले मल, कारखाना खोल्ने, नहर र पानी पोखरीहरू बनाई सिँचाइको बन्दोबस्त गर्न सबै जिल्लामा कृषि विकासबारे योजना तत्काल शुरु गराउन आफूहरूले संघर्ष गर्ने पनि उनले बताए । 

नेमकिपाले नयाँ पुस्तालाई नागरिकशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, संस्कृति र राजनीतिशास्त्रको अध्ययनमा ध्यान दिन सबै विश्वविद्यालयलाई घच्घच्याउने गरी शैक्षिक अभियान आवश्यक रहेको बताएको छ । सचिव सुवालले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिइएको खण्डमा संघीयताको आवश्यता नरहेको कुरामा नेमकिपाको अडान रहेको स्पष्ट पारे । 

सुवालले आफ्नो पार्टीलाई जिताएर संसदमा पुर्‍याएमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्ने बताए । त्यस्तै एमसीसी सम्झौता र एसपीपी साझेदारी खारेज गराउन आवाज उठाउने बताए । नागरिकता विधेयक पनि खारेज गराउन पहल गर्ने उनले बताए । माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन भूमिका खेल्ने पनि उनको भनाइ थियो । आफूहरूले किसान, मजदुर र कामदार वर्गको हितमा कानून बनाउने पनि उनले उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्