
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका प्रमुख घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
निर्वाचन आयोगले ५५० जना उम्मेदवारको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको सूचीबाट हटाएको छ । योग्यता नपुगेको भन्दै आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बुझाइएको नाम हटाएको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा जरिबाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको आयोगले जानकारी दिएको छ । त्यसमध्ये ३६९ जना जरिबाना नबुझाउने रहेको आयोगले जनाएको छ ।
००००
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचार–प्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबिस घण्टामा बढीमा चार पटकसम्म प्रसारण गर्न सक्नेछन् । दलहरूले एक पटकमा बढीमा एक मिनेटसम्म मात्रै प्रसारण गराउन पाउने भएका छन् ।
आयोगका अनुसार दलले निजी क्षेत्रको पत्र(पत्रिकाको माध्यमबाट प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा सात÷सात इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्नेछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेश सभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा तीनपटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्नेछन् ।
यसैगरी, प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सकिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
००००
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाँकी नौ जिल्लाको मतपत्र ढुवानी तिहारलगत्तै ढुवानी गरिने छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३६ जिल्लाको र सोही प्रणालीको प्रदेशसभाका लागि ३३ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको छ । दुवैतर्फ गरी आवश्यक पर्ने गरी चार करोड मतपत्रमध्ये कूल दुई करोड ९० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।
००००
मंगललवार लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ । सूर्यग्रहण ग्रस्तास्तअर्थात् ग्रहणकै समयमा सूर्यास्त भएकाले यस्ता ग्रहण बार्ने शास्त्रीय नियम फरक रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
००००
कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गर्ने घोषणा गरेको हो ।
००००
बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मंगलवार गरेका शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएका हुन् ।
सन् २०४० सम्म बंगलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
००००
निर्वाचन आयोगले ‘नो नट अगेन’ नामक फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता जारी भइसकेको अवस्थामा उक्त फेसबुक पेज र ग्रुपमार्फत राजनीतिक दलका नेता तथा उम्मेदवारहरूविरुद्ध भ्रामक प्रचार गरेको पाइएकाले बन्द गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।
००००
नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा एक औपचारिक कार्यक्रम गरी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा नेपालको सम्पत्ति र पुँजीलाई विदेशमा लान नपाउने ऐन, कानून तत्काल बनाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै अपराधीहरूको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्नेहरूलाई कानून उल्लंघन गरेको अपराध मानी दण्ड, जरिबाना, असुल उपर गराउने गरी नयाँ विधेयक निर्माणका लागि पार्टीले आवाज उठाउने उल्लेख गरिएको छ ।
००००
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन् ।
अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन् । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समाुनपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।
००००
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ ।
चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए ।
००००
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको हो ।
यसैबीच जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।
००००
तिहार अर्थात् यमपञ्चकको चौथो दिन मंगलबार गाईको पूजा आराधना गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो ।
हाम्रो समाजमा गाईलाई माताका रूपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको हो ।
००००
स्रोत नखुलेको साढे ३८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट नेपाली ल्याउँदै गरेको उक्त पैसासहित महोत्तरी भंगाहा नगरपारपालिका–१ का २१ वर्षीय सुवमराज चौवेलाई पक्राउ गरेको प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।
००००
नेपालका लागि चिनियाँ राजदूत रहेकी होउ यान्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएकी छन् । स्वदेश फिर्ता हुने क्रममा ट्विटरमा सन्देश लेख्दै यान्छीले सुन्दर नेपाललाई आफूले सम्झिरहेन उल्लेख गरेकी छन् ।
‘आफ्नो कार्यकाल पूरा गरें । म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु ।सम्पूर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । नेपालमा रहँदा सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैँ कदर गर्नेछु,’ उनले ट्वीटरमा लेखेकी छन् ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका हुन् ।
००००
सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ ।
सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि शनिवार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।