०८ असार २०८३, सोमबार

देउसी न भैलो, अलैंची घर भित्र्याउनै चटारो !

कात्तिक ११, २०७९
देउसी न भैलो, अलैंची घर भित्र्याउनै चटारो !

नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक्क  सजिएको छ ।

फक्ताङलुङ गाउँपालिका अलैंची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोकचोकमा देउसी र भैलो घन्किए पनि अलैंची किसानलाई भने पाकेको अलैंची घर भित्र्याउने चटाराले छोपेको छ । 

बुधवार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक थियो । बजारदेखि ५ किलोमिटर पर बिहीबारे क्षेत्रमा अलैंची बगानमा ७० वर्षीय खाङ्डु शेर्पा अलैंची भट्टी लगाउनमा व्यस्त थिए । कोही महिला, पुरुष र केटाकेटी अलैंची टिपेर जम्मा गरिएको अलैंचीको थुप्रो वरिपरि बसेर अलैंची छडाउनमा व्यस्त थिए । 

खाङडु शेर्पाको दशैं पनि अलैंची बगानमै बितेको थियो । अलैंची छराउँदै र सुकाउँदै तिहार पनि अलैंची बगानमै मनाउने शेर्पाले सुनाए । शेर्पाले ६० रोपनी जग्गामा अलैंची खेती गरेका छन् । फक्ताङलुङ गाउँपालिका–२ खेजेनेममा पनि ४० रोपनी जग्गामा अलैंची बगान छ । अलैंची बगानमै आफ्नो अझै १ महिना समय बित्ने उनको भनाइ छ । 

सोही क्षेत्र नजिकै रहेको अलैंची भट्टीमा केदार पताङ्वा पनि निधारमा तपतप पसिना चुहाउँदै अलैंची भट्टीमा सुकेको अलैंची उठाउन व्यस्त थिए । भट्टीको आँगनमा जम्मा गरिएको अलैंचीको थुङ्गाको हसमा बसेर ८/९ जना अलैंची छडाउनमा व्यस्त थिए । पताङ्वालाई एकैछिन बस्न फुर्सद छैन ।

दशैंदेखि नै पताङ्वाले भट्टीमा सुकेको अलैंची उठाएर घरमा जम्मा गर्ने र छडाएको अलैंची सुकाउनका लागि भट्टी लगाउनमै व्यस्त भएको हो । खेतीयोग्य ४० रोपनी जमिनमा अलैंची बगान विस्तार गरेको पताङ्वाले बताए ।

उनले परम्परागत प्रविधिका भट्टीबाट अलैँची सुकाउँदै आएका छन् । केही किसानलाई ‘अलैंची जोन’ कार्यालय ताप्लेजुङले आधुनिक प्रविधिको भट्टी उपलब्ध गराएको छ । किसानहरूको रोजाइमा परेको देखिँदैन । प्रायःजसो सबै किसानले परम्परागत प्रविधिका भट्टीबाट नै अलैंची सुकाउँदै आएको पताङ्वाले बताए । – दिलकुलमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्