०५ साउन २०८३, मंगलबार

हिजो गरेका काम घिमिरेका लागि मतदाता रिझाउने अस्त्र

कात्तिक १२, २०७९
हिजो गरेका काम घिमिरेका लागि मतदाता रिझाउने अस्त्र

मोरङ क्षेत्र नम्बर ४(२) बाट प्रदेश १ सभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा एमालेका नेता जीवन घिमिरेले चाडबाडमा पनि चुनावी अभियानलाई तीव्र बनाए । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि घिमिरेले चुनावी अभियानलाई मतदाता भेटघाट लक्षित गरेका हुन्  ।

मतदाता भेटघाटका क्रममा कटहरी गाउँपालिका वडा नम्बर ३ की सुनिता कामतले घिमिरेलाई विकासका मुद्दा अघि सार्न सुझाइन् । यसअघि निर्वाचित भएपछि धेरै निर्वाचित जनप्रतिनिधि नफर्किने गरेकोमा घिमिरे नियमित आउने र दुखसुखको साथी बनेकोमा उनले खुसी ब्यक्त गरिन् । गाउँघरमा नै आउने भेट्ने गरेकामा प्रशंसा गर्दै आगामी निर्वाचनबाट थप नयाँ योजना ल्याउन आग्रह गरिन् ।

‘यसरी अहिलेसम्म नागरिकका समस्या सुन्न कोही जनप्रतिनिधि पनि नआएको अवस्थामा तपाईं नियमित भेटघाटमा आउनु भएको छ’, उनले भनिन्, ‘हिजो पनि जिताएर पठाएको हो, भोलि पनि गाउँका सबैजना सहयोग गरेर जाने पक्षमा छन् ।’

कटहरीकै विकास राजवंशीले राजबंशी समुदायको भवन निर्माणमा सरकारमा रहँदा गरेको सहयोग सम्झिए । जातीय नारा मात्र लगाउने तर काम नगर्ने प्रवृत्ति  तोडिएको उनले बताए । नागरिकका आवश्यकताको पहिचान नै नहुने गरेको अवस्थामा यो बीचमा राजबंशी समुदायको सांस्कृतिक भवन निर्माणसँगै संस्कृतिको संरक्षणका लागि कार्यक्रमहरू गर्नमा  घिमिरेको योगदान महत्वपूर्ण रहेको उनले बताए ।

मतदाता भेटघाटका क्रममा घर–घरमा पुगेका जीवन घिमिरेले नागरिकका धेरै अपेक्षाहरु रहेको भए पनि केही काम गर्न सकेको र बाँकी कामहरू पूरा गर्दै जाने बताए । ‘धेरै कामहरू मैले मेरो निर्वाचन क्षेत्रमा गरेको छु’, उनले भने, ‘बाँकी रहेका केही कामहरू निर्वाचनपछि पूरा गर्दै लग्नेछु ।’  

२०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट घिमिरे निर्वाचित भएका थिए । उनी शेरधन राई नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीसमेत बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्