
भूमिका गिरी र प्रकाश दूतराजको स्वरमा ३ दिनअघि एउटा लोकदोहोरी गीत सार्वजनिक भएको छ, ‘देउरालीमा’ ।
वसन्त विश्वकर्माले कोरेका शब्दमा प्रकाश स्वयंले संगीत भरेर छन् र भूमिका गिरीसँग स्वर भरेका छन् । गीतलाई एरेन्ज भने कृष्ण भान्जाले गरेका हुन् ।
तिहारको अवसर पारेर सार्वजनिक गरिएको ‘देउरालीमा’ एउटा प्रेमगीत हो । जसमा ग्रामीण भेगका एक प्रेमजोडीको प्रेमभाव अनि नोकझोकलाई प्रस्तुत गरिएको छ । हराउँदै गएको परम्परागत पानीघट्टको आलोकमा टेकेर यसको भिडियोको कथा बुनिएको छ ।
मौसम हिमालीको कथा एवं निर्देशनमा तयार भिडियोमा भूमिका र प्रकाश स्वयं प्रस्तुत छन् ।
भूमिका र प्रकाशको सहकार्य रहेको गीत ‘चोली मैलै भो’ स्रोता दर्शकमाझ निकै हिट छ । ‘चोली मैलै भो’पछि स्वर र अभिनयमा भूमिका र प्रकाशले ‘देउरालीमा’ गीतमा सहकार्य गरेका हुन् । ग्रामीण परिवेशमा रहेर मौलिक गीत ल्याउँदै आएका प्रकाशको ‘देउरालीमा’ गीत पनि उत्तिकै मौलिक लाग्छ । स्वर र अभिनयमा भूमिका र प्रकाशको सहकार्य सुहाएको छ ।
निर्देशकका रूपमा मौसमले राम्रो गरेका छन् । जुग फेरिए पनि, प्रविधि आधुनिक आए पनि पुराना परम्परागत प्र्रविधिको पनि संरक्षण गर्नुपर्छ भन्ने सन्देश समेत भिडियोले प्रवाह छ । टिकटकमा गीत राम्रै चलेको छ ।
‘भूमिका गिरी’ यूट्युब च्यानलमा सार्वजनिक भिडियोले ४ लाख बढी ‘भ्युज’ पाइसकेको छ । पछिल्लो समय यूट्युबमा म्युजिक भिडियोले भ्युज नपाइरहेको अवस्थामा ‘देउरालीमा’ गीतको भ्युजलाई राम्रो मान्न सकिन्छ ।