
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीका वडाध्यक्ष घनलाल बस्याल, माओवादी केन्द्रका वडा कोषाध्यक्ष रुद्रप्रसाद शर्मा, माओवादीकै शिक्षक संगठनका पूर्व अध्यक्ष शालिकराम शर्मा, माओवादीकै कर्णबहादुर थापा लगायत वडाका १० जना अगुवा नेताहरू एमाले प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई एमाले उपाध्यक्ष एवं रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार विष्णु पौडेल, प्रदेशसभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठ लगायतले पार्टीमा स्वागत गरेका छन् । नवप्रवेशी नेताहरूले देशको विकास, राष्ट्रियताको रक्षा र जनताको समृद्धि एमालेबाहेक अरुले गर्न नसक्ने र अरु दलको भविष्य नभएको निष्कर्षसहित पार्टी प्रवेश गरेको बताए ।
एमाले नगर अध्यक्ष किसन ज्ञवालीले विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेशको क्रम निरन्तर जारी रहेको बताए । एमालेबाट नेकपा एसमा गएर जिल्ला कमिटी सदस्य रहेका कर्मचारी संगठनका नेता यज्ञमुर्ति भण्डारी, हिकबहादुर दर्लामी पनि एमाले प्रवेश गरेका उनले बताए ।
यसअघि नै नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं पनि एमालेमै फर्किसकेका छन् ।