
भारतको पश्चिमी राज्य गुजरातमा झोलुंगे पुल भत्किएर भएको दुर्घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले छिमेकी मुलुक भारतमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले उक्त दुर्घटनामा ज्यान गुमाएका भारतीय जनताप्रति श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
गुजरातमा पुल भत्किदा कम्तीमा १४१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् ।
बेलायती शासनकालमा १९औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।
उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ ।
राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर सञ्चालन गरेका थिए । चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताए । दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताए ।