२५ असार २०८३, बिहीबार

कास्की १ : प्रमुख राजनीतिक दलका जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कात्तिक १५, २०७९
कास्की १ : प्रमुख राजनीतिक दलका जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्कीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका अध्यक्ष मनबहादुर गुरुङ चुनावी दौडमा छन् । यस क्षेत्रमा अन्य दल र स्वतन्त्र गरी १४ उम्मेदवार छन् तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।

कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्रेस जिल्ला सभापति बराल गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका छन् भने एमालेले जिल्ला अध्यक्ष गुरुङलाई उम्मेदवार बनाएको छ ।

यसअघि विक्रम संवत् २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्रबाट एमालेका खगराज अधिकारी विजयी भएका थिए । तत्कालीन समयमा अधिकारीले ३९ हजार २४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । थापाले २५ हजार ८२६ मत ल्याउँदा १३ हजार ४१६ मतले हार व्यहोरेका हुन् ।

अधिकारी प्रदेशसभा सदस्यमा उम्मेदवार भएपछि प्रदेश सदस्य गुरुङलाई प्रतिनिधि सभामा उम्मेदवार बन्ने बाटो खुलेको हो । अघिल्लो निर्वाचनमा जितेकाले एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन ।

अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी सहितको गठबन्धन विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । 

यसपटक जित्ने गरी तयारीमा जुटेको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बरालले बताए । स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की–१ मा आफूले जित्नेमा उनी ढुक्क छन् । ‘मूल प्रचारप्रसारको काम भइरहेको छ । प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिरहेका छौं,’ उनले भने, ‘जित्ने भन्ने त पक्का नै छ तर कति मतान्तरले जितिन्छ भन्ने कुरामा जोड दिएका छौं ।’

एमाले पनि अघिल्लो निर्वाचनको शाख जोगाउन लागिपरिरहेको छ । कास्की क्षेत्र नम्बर १ का जनताको सुखदुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताए । ‘कास्कीमा मेरो संगठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ,’ उनले भने, ‘मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु ।’

salt training

कमेन्ट गर्नुहोस्