
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा गुफा जोड्ने पदमार्ग बनेको छ ।
अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुंगासम्म जोड्ने रेलिङ सहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्माएर वरपर रेलिङ राखी दृश्यावलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए ।
मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए । रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
अनुदानबाहेक थप २ लाख १९ हजार ४७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताए । काभ्रे गाउँको बेनी–जोमसोम सडकबाट रुप्से झरना हुँदै बाजाढुंगा जोड्ने उकालो बाटोमा ढुंगाको सिँढी चिनेर करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ ४०० मिटर रेलिङ राखिएको छ ।
पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुंगा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुंगासम्म जाने बाटो साँघुरो र जोखिमयुक्त थियो । पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ ।
अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुंगाका चुचुरा हेर्दा पञ्चेबाजाका आकृति छन् । यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुंगामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृतिअनुसारकै आवाज निस्कने गर्छ । ढुंगाको अलौकिक कला र संगीत आश्चार्यजनक छ ।