
मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक–एक किशोरको हत्यामा सम्लग्न आठ अभियुक्त पक्राउ परेका छन् । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छुरा प्रहार गरेर हत्या गर्ने आठै जनालाई उर्लाबारी इलाका प्रहरी कार्यालय र मोरङ जिल्ला प्रहरी कार्यायलको पक्राउ टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडाका सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौकका सपन खत्री, प्रतीक बराइली, सरोज परियार र सनिस याक्खा रहेकोे उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलनजंग थापाले बताए ।
उनका अनुसार हत्यामा संलग्न सनिस भागेर धनकुटा पुगेको अवस्थामा उनलाई धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । आइतवार राति अन्दाजी १०ः३० बजेको समयमा छठ पर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरूको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइबी साँध्न उनीहरूले छुरा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घाइते श्रेष्ठलाई उनका साथी र स्थानीयबासीको सहयोगमा उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको सोमवार बिहान मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । रासस