२१ जेठ २०८३, बिहीबार

अतिक्रमणको चपेटामा शिकार आरक्षण केन्द्र

कात्तिक १७, २०७९
अतिक्रमणको चपेटामा शिकार आरक्षण केन्द्र

बागलुङ, म्याग्दी र रुकुम गरी ३ जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । 

केन्द्रको १७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कंडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिए ।

आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको १० हेक्टर जमिन खाली गराएको थियो । म्याग्दीका स्थानीयले अस्थायी टहरा निर्माण गरी मौसमी बसाइ गर्दै आएका थिए । 

गत वर्ष अस्थायी गोठ हटाएर जमिन खाली गराएको ढोरपाटन शिकार आरक्षण प्रमुख कँडेलले जानकारी दिए । अतिक्रमित भू–भागमा ३११ घरधुरीले घरटहरा निर्माण गरेर बसोबास गरेका छन् । 

सबैभन्दा बढी म्याग्दी जिल्लाको भागमा अतिक्रमण रहेको प्रमुख संरक्षण अधिकृत कंडेलको भनाइ छ । प्रशासनिक सुविधा नभएको कारण अतिक्रमण रोक्न कठिन परेको छ । केन्द्रको पाखाथर, गाडीखोला, खालुडेखुलुडी, लामखोरिया, छेन्तुङ, सल्लाथान, नवी, स्यालपाखे, सल्लाथान क्षेत्रमा रहेका ३० परिवारले बारबन्देज गरेको जग्गा आर्थिक वर्ष २०७७/०७८ मा खाली गरिएको थियो । 

कूल १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षण केन्द्रको म्याग्दीको लुलाङखोरिया र गुर्जाखानी, रुकुमाको रन्मा, मैकोट, तकसेरा, कोल, रन्मा र काक्री तथा बागलुङको निसी, बोंगादोभान, अधिकारीचौर र बोवाङको क्षेत्रमा जग्गा अतिक्रमण भएको छ । 

अतिक्रमित जमिनमा स्थानीयले स्याउ, आलुलगायतका खाद्यन्न तथा फलफूल खेती गरेका छन् । अतिक्रमण रोक्न स्थानीयसँग आरक्षण केन्द्रले पटक–पटक आग्रह गरे पनि सफल भएको छैन । 

अधिकांश क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाउन नसक्दा अतिक्रमण गर्नेका लागि सजिलो भएको कार्यालय प्रमुख कंडेलको भनाइ छ । विगत ३ वर्षदेखि अतिक्रण हटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन । 

केही घरहरू केन्द्र स्थापना हुनुअघि नै रहेका कारण सरकारले लालपूर्जा दिलाउनुपर्ने वा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको कार्यालय प्रमुख कंडेलले बताए । लालपूर्जा वितरण, राहत तथा पुनःस्थापना गर्न मन्त्रिपरिषद् बैठकले नै टुंग्याउनुपर्ने भएकाले अतिक्रमण हटाउन नसकिएको कंडेलले बताए ।

आरक्षण केन्द्र घोषण हुनु पहिले नै बसोबास तथा खेतीपातीका लागि भोगचलन गर्दै आएको जग्गाको विषयमा आरक्षण केन्द्र र स्थानीयबीच विवाद कायम रहेको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए ।

आरक्षण केन्द्रले स्थानीयलाई नीति नियम तथा विषयवस्तु बुझाउन नसक्दा समस्या भएको उनको भनाइ छ । केन्द्र स्थापना हुनुपूर्व स्थानीयले हाल आरक्षले दाबी गरेको क्षेत्रमा खेतीवाली, मठमन्दिर निर्माण अस्थायी टहरा निर्माण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्