
काठमाडौं क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले घरदैलो शुरु गरेका छन् । गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूले बिहीवारदेखि संयुक्त रुपमा घरदैलो शुरु गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती, क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता ध्रुव केसी र क्षेत्र नं. २ (२) का प्रदेश सभा सदस्य उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता भरतप्रसाद फुँयालसहित गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्ताको टोलीले घरदैलो गरेको हो । टोलीले बिहीवार पेप्सीकोलादेखि नरेफाँटसम्म घरदैलो गरेको छ ।
घरदैलोको क्रममा हाते माइकबाट उम्मेदवारहरू घरदैलोमा आएको भन्दै प्रचार गरिएको थियो भने आ–आफ्नो पार्टीको चुनाव चिन्ह अंकित झण्डा पनि बोकिएको थियो । सहभागी नेता, कार्यकर्ताहरूले ‘आयो, आयो, गठबन्धन आयो’ भन्दै नाराबाजीसमेत गरेका थिए ।
मतदाताको घर–घरमा नमस्ते गर्दै पुगेका उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन आग्रह गरिरहेको देख्न सकिन्थ्यो ।