
कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गर्दै आएका तेह्रथुम लालीगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आशामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकीको व्यवस्था नहुँदा जीवन कष्टकर रुपमा बिताउनु परेको उनीहरूको गुनासो छ ।
अहिले देशमा चुनाव लागेकाले नेता, तथा कार्यकर्ता भ्याइनभ्याई गरी भोट माग्दै हिँड्न थालेका छन् । विसं २०१५देखि भोट दिँदै आएको छु, नेताले काम नगरेका हुन् की राम्रो उम्मेदवार छान्न नजानेर हो हाम्रो गाउँको विकास जहाँको त्यही रहेको छ, ७५ वर्षीय कविन्द्र श्रेष्ठले पीडा पोखे ।
उनी मात्रै होइन त्यस ठाउँका अधिकांश बासिन्दाले उम्मेदवारसँग गाउँमा स्वास्थ्यचौकी भइदिए सिटामोलसम्म त खान पाइन्थ्यो की भनेर हरेक चुनावमा गुनासो गर्दै आएका छन् । राम्रो स्वास्थ्य सुविधा त के सिटामोल मात्रै खानकै लागि पनि एक दिनको बाटो हिँडेर जिल्ला अस्पताल धाउनु परेको अर्का स्थानीयवासी ज्ञानबहादुर श्रीपालीले बताए । चुनाव आउन केही दिन मात्र बाँकी भए पनि कुन उम्मेदवारलाई भोट दिने भन्ने निर्णय गर्न नसकिएको अर्का स्थानीयवासी अम्बिका कार्कीले जोड दिइन् । स्वास्थ्यचौकी जसले स्थापना गर्छ उसलाई नै मत दिने पक्षमा रहेको उनको भनाइ थियो ।
विगतका निर्वाचनमा थुप्रै नेतालाई जिताए पनि अहिलेसम्म कसैले पनि मन छुनेगरी काम गर्न नसकेको गुनासो गर्दै अम्बिकाले भनिन्, ‘हामीले विगतका चुनावमा धेरैलाई भोट दियौँ, खै उहाँहरूले अहिलेसम्म हाम्रा लागि केही गरेको देखेनाैँ । जसलाई जितायौँ, उहाँहरू अहिले हामीसँग राम्रोसँग बोल्न पनि हुन्न । अरु के कुरा गर्नु र ? त्यसैले यस पटक राम्रो काम गर्ने जनप्रतिनिधिको खोजीमा छौँ । हामीलाई ठूला कुरा होइन्, काम चाहिएको छ ।’
भेलामा करिब एक सय जनाको हाराहारीमा गाउँले सहभागी थिए । खासमा उनीहरू नेताको खोक्रो भाषण सुन्नुभन्दा आफ्ना गुनासा पोख्नका लागि सहभागी भएका थिए । त्यस ठाउँका मतदातासँग मत माग्न प्रतिनिधि सभाको उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ र प्रदेश सभा १ का कांग्रेसकै उम्मेदवार सन्तोष सुुब्बालगायत गठबन्धन दलका नेता त्यहाँ पुगेका थिए ।
चुनाव आएसँगै सबै नेता गाउँ पस्छन्, जितेर गएपछि कोही फर्किंदैनन् । हामी गाउँलेको समस्या जहाँको त्यही रहेको लालीगुराँस नगरपालिका–३ मुसाङखेलकी कमला कार्कीले गुनासो गरिन् । मंसिरको चटारो धमाधम काम गर्न छोडेर नेताका भाषण सुन्ने फुर्सद पनि छैन । खेतमा धान र बारीमा कोदो पाकिसकेको छ ।
कुन पार्टीका एजेन्डाले अहिलेसम्म हाम्रो गाउँको समस्या सम्बोधन गरेको छ र भन्दै उनले उम्मेदवारसँग गुनासो गरिन् । कार्की मात्र होइन वडा नं ६ का कृष्ण लिम्बूले भने, ‘गाउँ–गाउँमा सडकको ट्र्याक खोल्ने त काम भयो तर स्तरोन्नति नभएर आफूले उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पुर्याउन नसकेको र बिरामी हुँदा अस्पतालसमेत लान गार्हाे छ ।’ मतदाताले घरदैलो तथा भेटघाटमा आउने सबै नेताहरूलाई आ–आफ्ना गुनासा पोख्न थालेका छन् ।
चुनाव आउँदा मात्र नेता गाउँमा आउने र चुनाव जितेर गएपछि फेरि नफर्किने गरेकाले गाउँको विकास पछि परेको गीता बानियाँले बताइन् । अघिल्लो जनप्रतिनिधिभन्दा असल विचार, जनताको हितमा काम गर्ने र आधुनिक कुरामा राम्रो ज्ञान भएको जुझारु उम्मेदवारलाई जिताउने पक्षमा रहेको अधिकांश मतदाताको भनाइ थियो ।
‘चुनावको समयमा मात्र देश विकासका कुरा गर्ने तर जितेपछि ती सबै कुरा भुलेर आफ्नो व्यक्तिगत सुख सयलमा रमाउनेले अब भोटको आश नगरे पनि हुन्छ । हामी त्यस्तालाई प्राथमिकता दिँदैनौँ’, स्थानीयवासी देवीमाया कार्कीले जोड दिइन्, ‘जसले आफ्नो होइन देशको चिन्ता गरोस्, देशभित्रै रोजगारी बढाउने कार्य गरोस् । देशमा बेरोजगारी मौलाएको छ । हजारौँ युवा विदेश पलायन भएका छन् । महँगी बढेर उस्तै छ । यत्ति हो अब चाहिँ अलि राम्रोलाई अवसर दिनुपर्छ ।’ रासस