२३ जेठ २०८३, शनिबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

कात्तिक १८, २०७९
सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारका कार्य गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरू बिहीवारदेखि प्रचार–प्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहिता पालना गर्न सबैलाई सचेत गराएको हो । 

आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनारर्, याली, गर्दा आचारसंहितामा निर्धारण भएका कुराहरूको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरूसँग अपिल गरे ।
००००
यसैगरी आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो प्रदेशको प्रदेश सभा सचिवालयलाई पत्र पठाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले बिहीबार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यहरूबारे जानकारी गराएका थिए ।
००००
निर्वाचनको प्रयोजनार्थ आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे।
००००
यसैगरी आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले पनि गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ दिन पत्र पठाएको छ ।
००००
प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको पाइएको छ । 
काउन्सिलद्घारा बिहीबार जारी प्रेस विज्ञप्तिमा यही कार्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार २ वटा छापा माध्यम, २ वटा टेलिभिजन र १३ वटा अनलाइनले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको जनाइएको छ ।  यी समाचार माध्यममध्ये ४ वटालाई निर्देशन, २ वटालाई ध्यानाकर्षण, ६ वटालाई सचेत र ४ वटालाई स्पष्टीकरण पत्र पठाइएको र दर्ता÷सूचीकरण नभएका २ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिल वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्घारा जारी उक्त्त विज्ञप्तिमा जनाइएको छ ।
००००
सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) को दुई वर्ष म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको छ ।    
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले गत असार ३१ गते जिएमआरको म्याद दुई वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न विहिबार अन्तरिम आदेश दिएको हो ।
००००
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 
उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेश गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् ।
००००
संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रदेशमन्त्रीहरूको संख्या प्रदेश सभा सदस्यको १० प्रतिशत बराबर हुनेगरी तय गर्न सरकारलाई सिफारिस गरेको छ । 
संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बिहीवार मुख्यसचिव शंकरदास बैरागीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा प्रदेश मन्त्रीहरूको संख्या न्यूनतम पाँच जनाभन्दा कम नहुने गरी प्रदेश सभा सदस्यको १० प्रतिशतमा सीमित गर्न सिफारिस गरेको हो । समितिले मन्त्रीको संख्या वृद्धि हुँदा प्रशासनिक खर्चमा पनि वृद्धि भएको र जनतामा संघीयताप्रति नकारात्मक धारणा आएका निस्कर्ष निकाल्दै मन्त्रीको संख्या घटाउन सुझाव दिएको छ ।
००००
तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अंकले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ ।
००००
विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसासिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीवार दिउँसो अचानक ग्यास लिक हुँदा विराटनगर–५ का ५४ वर्षीय रौँदी चौधरीको मृत्यु भएको हो ।
००००
भारतबाट बढेर आएको भएपनि नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।
००००
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
००००
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष लामिछानेले चुनाव लक्षित घोषणा पत्रलाई ‘हामी र हाम्रो बाचा’को नाम दिएर सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिले अभ्यास भइरहेको शासकीय स्वरूपमा प्रश्न उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्