२२ जेठ २०८३, शुक्रबार

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

कात्तिक १८, २०७९
कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

कपिलवस्तुको ३ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा छन् ।

उनी २०६३ सालयता निरन्तर सांसद रहेका छन् । शाह चौथोपटक सांसद बन्ने प्रयासमा छन् ।

उनी २०७० सालमा संघीय समाजवादी, २०७४ सालमा नेपाली कांग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

विक्रम संवत् २०७४ सालको निर्वाचनमा शाहले २० हजार १ मत ल्याएका थिए । विगतमा गरेको कामका आधारमा अहिले आफू सहजै जित्ने शाहको दाबी छ । 

कपिलवस्तु–३ मा एमालेबाट मंगलप्रसाद गुप्ता उम्मेदवार बनेका छन् । गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन् ।

गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन् । कपिलवस्तुमा ठूला दलले पूरानै उम्मेदवार दोहोर्‍याएका छन् ।

नयाँ अनुहारका रूपमा कपिलवस्तु–१ बाट लौरो अभियानका देवेन्द्रकुमार शर्मा र कपिलवस्तु–३ बाट मौलिक जरोकिलो पार्टीका यमन उपाध्याय उम्मेदवार बनेका छन् । 

कपिलवस्तुको १ नम्बर क्षेत्रबाट नेकपा माओवादी केन्द्रले चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट बलराम अधिकारी चुनावी मैदानमा होमिएका छन् । विक्रम संवत् २०७४ सालमा वाम गठबन्धनबाट विजयी खनाल यसपटक कांग्रेसको साथ लिएर निर्वाचनमा उत्रिएका छन् ।

गत निर्वाचनमा खनालले २९ हजार ७९९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । एमालेले २०७० सालमा निर्वाचित बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा अधिकारी र खनाल एकै ठाउँमा थिए । १ नम्बर क्षेत्रमा दुवै पहिलाकै सांसद हुन् । 

कपिलवस्तुको २ नम्बर क्षेत्रमा गठबन्धनका उम्मेदवार सुरेन्द्रराज आचार्य र एमालेका वृजेश गुप्ताबीच प्रतिस्पर्धा हुने देखिन्छ । दुवै नेता पटक–पटक सांसद र मन्त्री समेत भइसकेका व्यक्ति हुन् । २ पटक कांग्रेसका जिल्ला सभापति भएका आचार्य गत निर्वाचनमा गुप्तासँग पराजित भएका थिए । गुप्ता ४ पटक सांसद भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्