३० असार २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– ५ : राजनीति र राजधानी दुवै सफा गर्छु भन्दै घरदैलोमा प्रदीप पौडेल [भिडियो]

कात्तिक १८, २०७९
काठमाडौं– ५ : राजनीति र राजधानी दुवै सफा गर्छु भन्दै घरदैलोमा प्रदीप पौडेल [भिडियो]

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको उम्मेदवारीका कारण काठमाडौं– ५ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

यस क्षेत्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् । अघिल्लोपटक पोखरेलले सहज जीत दर्ता गरेको क्षेत्रमा यसपटक कडा टक्कर हुने देखिएको हो ।

अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित उम्मेदवार रञ्जु दर्शनले पनि यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

प्रदीपको टीम यसै साता काठमाडौंको गल्फुटार र लाजिम्पाटमा चुनावी घरदैलोमा भेटियो । पौडेल हात जोड्दै भोट मागिरहेका थिए ।

उनले भने, ‘राजधानी र राजनीति दुवै प्रदूषित बन्यो । यसलाई सफा गर्न एकपटक युवालाई मौका दिनुहोस् ।’

यसअघि निर्वाचित हुनेहरू फर्केर नआएका र समस्या समाधान गर्ने प्रयास नगरेको गुनासो जनताले गरिरहेको बताउँदै नेता पौडेलले भने, ‘पहिले निर्वाचित हुनेहरूको व्यवहारले मतदाता आजित भएको देखिन्छ, तर हामीले उहाँहरूलाई विश्वास दिलाउन खोजेका छौं । हामी राजधानी पनि सफा गर्छौं र राजनीति पनि सफा गर्छौं ।’

चुनाव जितेपछि जनप्रतिनिधि र जनताको संवादलाई सहज बनाउने उनले बताए । ​‘यस क्षेत्रमा ७ किलोमिटर सडक बनाउने मुद्दा १५ वर्षदेखि चुनावी एजेन्डा बनाइएको छ,’ उनले पुराना नेतालाई इंगित गर्दै भने । 

‘हेभीवेट’ उम्मेदवारसँग प्रतिस्पर्धा भइरहेको भन्ने प्रश्नमा उनले भने, ‘जनताको बीचमा टेस्टेड भएर काम गर्न नसकेकाहरू हेभीवेट भएका नेता हुन सक्दैनन् । आजको खास समस्या बुझेको अनि समाधान पनि दिन सक्ने नेता मात्र हेभीवेट भएका नेता मानिन्छ ।’

मुद्दागत हिसाबमा आफूसँग कोही पनि प्रतिस्पर्धी नदेखिएको उनको भनाइ छ । ‘हेभीवेट भनिनेहरूले राजनीतिमा असाध्यै धेरै प्रदूषण बढाएको अवस्था छ । त्यसैले राजधानी र राजनीति यी दुवैको प्रदूषणमुक्त गर्न पनि यस क्षेत्रमा मेरो उम्मेदवारी हो,’ उनले भने ।

स्वतन्त्र उम्मेदवारको बाढी रहेको क्षेत्रमा चुनाव जित्न आउने चुनौतीबारे उनले भने, ‘स्वतन्त्र उम्मेदवार धेरै छन् भनेर डराउने, आत्तिने कुरै आउँदैन । यस्तो खालको प्रतिस्पर्धालाई हामीले सहजरूपले लिनुपर्छ । हामीले जनताको बीचमा लैजाने भनेको आ–आफ्नो मुद्दा हो । यदि मेरोभन्दा अरूको मुद्दा राम्रो छ भने मतदाताले राम्रोलाई छान्न पाउनुहुनेछ तर मतदाताले पनि कसको मुद्दा राम्रो छ ? त्यो हेरिदिनुपर्छ । कसले विगतमा कस्तो काम गरे ? कसले मौका पाउँदा पनि काम गरेन ? कसको काम गर्ने हुटहुटी छ ? यी कुराहरूमा मतदाताले भोट हाल्दा विवेक प्रयोग गर्नुहुनेछ ।’

वैकल्पिक राजनीतिको वकालत गर्ने सन्दर्भमा स्वतन्त्रले महत्त्वपूर्ण योगदान गरेको उनले बताए ।

‘वैकल्पिक राजनीतिको वकालत गर्ने व्यक्तिहरू पार्टीभित्र पनि छन् । सुधारका निम्ति पहल गर्ने व्यक्तिहरू पार्टीभित्र पनि छन् । त्यसैले पार्टीको प्रतिनिधि संसदभित्र पुगेमा उ एक्लै हुँदैन । उसले संगठित भएर आवाज उठाउन सक्छ । त्यसैले तमाम विसंगति–विकृति हटाउन पनि पार्टी प्रतिनिधिले मात्र महत्त्वपूर्ण योगदान गर्नसक्छ,’ उनले भने, ‘तर त्यसो भन्दैमा पार्टीका प्रतिनिधिहरूले विषयहरू उठान गरेका छन् कि छैन ? त्यो हेर्न भने जरुरी छ ।’

पर्यटनबाट समृद्धि प्राप्त गर्न सकिने आधार कांग्रेसको घोषणापत्रमा रहेको उनले बताए । 

‘काठमाडौंलाई प्रदूषणमुक्त बनाऔं । यहाँको अक्सिजन अशुद्ध छ, शुद्ध बनाऔं । यहाँका नदीनाला सफा बनाऔं । काठमाडौंलाई ग्रीन सिटी बनाऔं । अहिलेसम्म जितेकाले किन गर्न नसकेको ? के कारणले रोकेको हो ?’ उनले प्रतिप्रश्न गर्दै भने ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्