चितवन नारायणगढको पोखरा बसपार्कको पारिपट्टि अस्थायी सटरमा सानो फलफूल पसल गरेर बसेकी छिन्– ५७ वर्षकी सुमित्रा अधिकारी ।
चितवन क्षेत्र नम्बर २ अन्तर्गत क्षेत्रपुरकी सुमित्रा मंसिर ४ गत हुने चुनावको चहलपहलबाट बेखबर छैनन् । अन्य मतदाताजस्तै राजनीतिक दलका नेताप्रतिको आक्रोश उनीमा पनि देख्न सकिन्छ ।
‘दलहरूले झुक्याउने मात्र काम गरे । हाम्रा सन्ततिको भविष्य पनि बिगारिदिए । यसपटक नयाँ उम्मेदवारले हाम्रो भोट पाउन सक्छन्,’ सुमित्राले भनिन् ।
सुमित्राले राजनीतिक कुरा गरेको ठाउँमा स्थानीय रिता थापा पनि कुरा मिसाउन आइपुगिन् । उनी पनि चितवन– २ की मतदाता हुन् ।
‘पटक–पटक हामीलाई झुक्क्याउने नेतालाई फेरि किन भोट दिने ? यसपटक हामीले स्वाद फेर्ने तयारी गरेका छौं,’ थापाले भनिन् ।
यसअघिका सांसदले वाचा गरेअनुसारको काम नगरेको आरोप उनले लगाइन् ।
नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले यसअघि चुनाव जितेको चितवन– २ मा उनै उम्मेदवार दोहोरिएका छन् । पोखरेल २०७० सालको संविधानसभा चुनावमा पनि चितवनबाट विजयी भएका थिए ।
यो क्षेत्रमा चुनाव लड्न सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धनाढ्य नेता उमेश श्रेष्ठ मैदानमा उत्रेका छन् । श्रेष्ठ शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री छन् । आफूलाई चुनाव लड्ने पृष्ठभूमि बनाउन श्रेष्ठ स्थानीय तह चुनावको बेला रेनु दाहालको प्रचारका लागि चितवनमा खटिएका थिए ।
पुराना दलले देशका समस्या समाधान गर्न नसकेको भनेर टेलिभिजन पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन– २ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि घण्टी चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
शुरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेका रविले अन्तिममा चितवन– २ मा उम्मेदवारी दर्ता गराए ।
चुनावको अन्तिम नतिजाको भविष्यवाणी गर्न नसकिए पनि रविले चितवन– २ मा सत्ता गठबन्धन र एमालेलाई हायलकायल बनाएका छन् ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा पर्ने ग्रामीण बस्तीदेखि नारायणगढको भित्री बजारसम्म रविको दलले चुनावी माहोल सिर्जना गर्न सफल भएको छ ।
चितवन मेडिकल कलेज (सीएमसी) अगाडिको रोडमा एक दर्जन व्यक्तिसँग कुरा गर्दा उनीहरूमध्ये १० जना परिवर्तनको पक्षमा देखिए । थोरै मतदाताले मात्र अहिलेसम्म धारणा बनाइसकेका छैनन् ।
औषधि व्यवसायी सागर पराजुली, फेन्सी पसल सञ्चालिका सरिता घिमिरे र अर्का व्यवसायी सनत लम्सालले यसपटकको भोट नयाँ अनुहारलाई दिने बताए ।
चितवन कविलासका ६९ वर्षीय भक्तबहादुर गुरुङले यसपटक चितवनमा नयाँ उम्मेदवारको बारेमा चर्चा चलिरहेको बताए ।
‘कसलाई भोट दिने भन्नेबारे अहिलेसम्म सोच बनाएको छैन । यसपटक हाम्रो ठाउँमा नयाँ उम्मेदवारको बारेमा पनि कुरा चलिरहेको सुन्छु,’ गुरुङले भने ।
पुरानाप्रतिको विकर्षण, नयाँप्रति आकर्षण !
चितवनका मतदातामा यसपटक विद्रोही चेत अन्य ठाउँको भन्दा बढी छ । भोट माग्न आउने नेतालाई मतदाताले र्याखर्याख्ती पारिरहेका छन् ।
स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारले ल्याएको उल्लेखनीय मतपछि विद्रोहको चेत विस्फोटको अवस्थामा पुगेको हो ।
भरतपुर– १० का स्थानीय मतदाता राजेश श्रेष्ठ अन्य दलका उम्मेदवारप्रति मतदाताको विकर्षणले नयाँ दल र उम्मेदवारप्रति आकर्षण देखिएको बताउँछन् ।
‘यहाँका तमाम नेतालाई टिकट नदिएर जसरी उमेश श्रेष्ठलाई टिकट दिइयो, यसले कांग्रेसमा असन्तुष्टि बढायो र स्वतन्त्र (पार्टी)को पक्षमा माहोल बन्यो,’ श्रेष्ठले लोकान्तरसँग भने ।
भरतपुर– १० मै किराना पसल सञ्चालन गरेर बसेका पर्वतजंग भण्डारी गृहिणीहरूले गरिरहेको राजनीतिक कुराले आफूलाई अचम्म लागेको बताउँछन् ।
‘यसपटकको चुनावमा यहाँका महिलाले नचिताएको नतिजा निकाल्दिन्छन्, ठूला दलको मनोमानीविरुद्ध यहाँ महिलाले विद्रोह गर्ने परिस्थिति बनेको छ,’ भण्डारीले भने ।
नारायणगढ बजारमा भेटिएका कांग्रेस र एमाले नेताहरू रक्षात्मक देखिए ।
‘नयाँ उम्मेदवारको पक्षमा अहिले चर्चा भए पनि भोट हाल्ने समयमा मतदाताले आफ्नो दल र चिह्न छाड्दैनन् । वडा र टोलसम्म संगठन भएको दललाई बाइपास गरेर नयाँ दल उदाउने भन्ने कुरा सजिलो छैन,’ चितवन पुल्चोकमा भेटिएका एक एमाले कार्यकर्ताले भने ।
कांग्रेसका नेताहरू स्वतन्त्र पार्टीले चितवनमा राजनीतिक वेभ ल्याएको स्वीकार्छन् । तर, चुनाव भने गठबन्धनकै उम्मेदवारले जित्ने उनीहरूको विश्वास छ ।
विगतमा प्रतिनिधिसभा निर्वाचनमा पाएको सफलता तथा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई एमाले उम्मेदवार पोखरेलले चुनाव जित्ने आधार बनाएका छन् ।
भरतपुर महानगरमा निकालेको जित र गठबन्धनको भोट जोडेर आफूले चुनाव जित्ने विश्वासमा कांग्रेस उम्मेदवार श्रेष्ठ छन् ।
पुराना राजनीतिक दलप्रतिको वितृष्णा र आक्रोशका कारण आफूले चुनाव जित्ने रविको विश्वास छ ।
तीन जना उम्मेदवारबीचको प्रतिस्पर्धाले चितवनको राजनीतिक माहोललाई थप रोमाञ्चक बनाइदिएको छ ।
रवि लामिछाने ल्याएको जबरजस्त माहोल
चितवन महानगरपालिका वडा नम्बर १ को रामनगर बजारका व्यवसायी तुलसीराम श्रेष्ठ एक महिना अघिसम्म नेपाली कांग्रेसको जिल्ला समिति सदस्य थिए ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको वडा सभापति बनेका छन् । उनी शनिवार रामनगरको मुख्य सडकमा राखिएको सम्पर्क कार्यालय उद्घाटनको चाजोपाँजो मिलाउँदै थिए ।
‘देशमा बढेको भ्रष्टाचार र बेथिति अन्त्य गर्नुपर्छ भनेर नयाँ पार्टीमा लागेको हो । भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न सक्ने सामर्थ्य हाम्रो पार्टीसँग मात्र छ,’ श्रेष्ठले दाबी गरे ।
साझा पार्टीमा आस्था राख्ने अर्का युवा व्यवसायी नुरप्रसाद भट्टले चितवनका जनताले परिवर्तन खोजेको र यसपटक चमत्कार हुने दाबी गरे ।
‘२०६४ सालमा जसरी माओवादीको पक्षमा माहोल सिर्जना भएको थियो, यसपटक चितवन २ मा स्वतन्त्र पार्टीको पक्षमा त्यस्तै ह्वीम आएको देखिएको छ,’ भट्टले दाबी गरे ।
टेलिभिजन पत्रकारिता छाडेर रवि राजनीतिमा होमिएका हुन् । ‘तीन वर्षअघि चितवनमा भएको एउटा घटनाको समयमा पनि यहाँका जनता रविको पक्षमा ओर्लिएका थिए । राजनीतिक दल खोलेर चुनाव लड्न आएपछि मतदातामा उत्साह थपिएको छ,’ चितवन बसपार्कमा भेटिएका नारायण पौडेलले भने ।