२३ असार २०८३, मंगलबार

झापा ३ को ब्याटल ग्राउण्डमा सिटौला र लिङ्देन, को बलियो ?

कात्तिक २२, २०७९
झापा ३ को ब्याटल ग्राउण्डमा सिटौला र लिङ्देन, को बलियो ?

: आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । 

यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यस क्षेत्रको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले अहिले सबैको ध्यान यसतर्फ केन्द्रित भएको छ ।

नेता सिटौलालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को त्रिपक्षीय समर्थन छ भने राप्रपा अध्यक्ष लिङ्देनलाई नेकपा (एमाले)को दर्बिलो समर्थन छ । जसका कारण यो क्षेत्रमा दुवै पक्षको जीत सुनिश्चित छैन ।

चुनाव लक्षित कार्यक्रममा दुवै नेताले आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहेका छन् । पाँच वर्षयता यो क्षेत्रमा विकासका नाममा केही काम नभएको भन्दै नेता सिटौला चुनावी अभियानमा झापा क्षेत्र नं ३ लाई समृद्ध बनाउन आफूले जित्नै पर्ने बताउँदै आएका छन् ।

“यो क्षत्रेमा पाँच वर्षमा उल्लेख्य केही काम भएको छैन”, उनले भने, “जनताले विकास चाहेका छन्, यहाँका जनताको जनजीविका उकास्ने र विकासको मार्गमा डोहोर्याउन मैले जित्नु पर्छ ।” विकास र परिवर्तनको आकांक्षा राख्ने यस क्षेत्रका जनताको दर्बिलो समर्थन आफूलाई मिलिरहेको र सोही कारण पनि आफ्नो जीत हुने उनले दाबी गरे ।

    स्थानीय आवश्यकतासँगै राष्ट्रिय एजेण्डासहित नेता सिटौला जनता माझमा गइरहेका छन् । मुलुकमा शान्ति स्थापना र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको नेता सिटौलाको ठहर छ । 

“विपन्न, दलित, आदिवासी, जनसाधारणको जनजीविकासँग जोडिएका धेरै कुरा संविधानले इङ्गित गरेको छ”, उनले भने, “संविधान त आयो अब त्यसको पूर्ण कार्यान्वयन हुन जरुरी छ ।” राष्ट्रिय तहका नीति निर्माणदेखि राष्ट्रिय आवश्यकताका विषयमा पहल गर्न आफू विजय भएर संसद्मा जान अत्यावश्क रहेको सिटौलाको ठहर छ ।

यता, उम्मेदवार लिङ्देनले आफूले यस क्षेत्रको जनतासँग हातमा हात र काँधमा काँध मिलाएर काम गरेको बताए । “मैले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको छु”, उनले भने, “अझै धेरै काम गर्न बाँकी छ, त्यो पनि विस्तारै गर्दै जानेछु ।”

आफ्नो पाँच वर्षे संसदीय कार्यकालमा यस क्षेत्रका नदीले बर्सेनि गर्ने कटान र डुबान समाधान भएको उनको भनाइ छ । “सडक कालोपत्रे, ग्राभेलका काम धेरै भएको छ”, उनले भने, “पुल पुलेसा, बाटाघाटा बनेका छन्, बन्ने क्रममा छन् ।”

हिन्दू राष्ट्र र राजतन्त्रको मूल राष्ट्रिय मुद्दाका साथ पार्टी अघि बढिरहेको उनले बताए । “कुशासनको अन्त्य गरेर भ्रष्टाचारमुक्त नेपाल बनाउने एजेण्डा राप्रपाको हो”, उनले भने । मुलुकमा यथास्थितिको अन्त्य चाहने पक्षले आफूलाई मत दिने उनको भनाइ छ । जनताको साथ र विश्वास नै आफ्नो जीतको मुख्य आधार रहेको उनले बताए ।

लिङ्देनले गत २०७४ सालको निर्वाचनमा सिटौलालाई पराजित गरेका थिए । गत २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष लिङ्देन ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए भने भने नेता सिटौलाले ३१ हजार १५९ मत ल्याएका थिए ।

झापा क्षेत्र नं ३ अन्तर्गत भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नं १० पर्छ । यस क्षेत्रमा २८ वडा र एक लाख ३१ हजार चार सय ३२ मतदाता छन् ।

गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कचनकवलको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले, हल्दिबारीको अध्यक्ष र उपाध्यक्ष दुवै राप्रपा र भद्रपुरमा नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपाले जितेको छ । अठ्ठाइस वडामध्ये कांग्रेसले १६, राप्रपाले पाँच, एमाले चार, माओवादीले दुई र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्