
देशभरका विभिन्न स्थानमा भएको दुर्घटनामा ८ जनाको निधन भएको छ ।
प्रहरीले बिहीबार जारी गरेको बुटेलिन अनुसार, मोटरसाइकल, ट्याक्टर र जीप दुर्घटनामा उनीहरूको निधन भएको हो । काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको निधन भएको छ ।
बुधबार ना. ८ ख. १८४१ नम्बरको ट्रकले बा.प्र. ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको छ ।
स्कुटर चालक कास्की मादी गाउँपालिका–९ बस्ने ४७ वर्षीय बेल बहादुर राना मगर र सोही ठाउँ बस्ने ४१ वर्षीया कल्पना राना मगरको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसैगरी, बाराको पचौरौता नगरपालिका–८ नहरको बाटोमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । प्र.२–०३००१ त ४९९१ नम्बरको धान बोकेको ट्याक्टर खेतबाट बाटोमा उकालो चढाउने क्रममा पल्टिएर बुधबार साँझ ट्याक्टर चालक स्वर्ण गाउँपालिका–३ का २७ वर्षीय जवाहीर सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
बाराकै महागढीमाई नगरपालिका–२ पत्रहटी चोकमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ईनर्वाबाट कलैयातर्फ जाँदै गरेको प्र.३–०२–०११ प ८३७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा धोबिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय बिन्देश्वर सहनीको मृत्यु भएको प्रहरीले बताएको छ । उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता हुम्लामा जिप दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ का २८ वर्षीय कुङगा तेन्जिन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले बताएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनस्थित सडकमा हेटौंडाबाट हातिसुडेतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा बागमती गाउँपालिका–५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्य भएको प्रहरीले बताएको छ ।
दैलेख, भैरवी गाउँपालिका–५ गिताचौरस्थित सडकमा ट्याक्टरको ठक्करबाट पैदलयात्री ५३ वर्षीय लालबहादुर शाहीको बुधबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।
बाँके कोहलपुर नगरपालिका–१३ स्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा गएराति बैजनाथ गाउँपालिका–५ जि गाउँ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।