
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइँनभ्याइँ छ ।
निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारसँगै यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि बाक्लो देखिएको छ । आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।
प्रतिनिधि सभातर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भएको छ । केही क्षेत्रमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति समेत भएको छ ।
नेकपा एमालेले पनि आवश्यकताअनुसार विभिन्न राजनीतिक दलसँग गठबन्धन गरेको छ । मधेश प्रदेशलगायत केही क्षेत्रमा एमाले र जनता समाजवादी पार्टी, नेपालबीचको गठबन्धन छ भने केही स्थानमा राप्रपासँग एमालेको तालमेल छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं लगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरेको छ भने स्वतन्त्र उम्मेदवार हौसिएको देखिएको छ । केही स्थानमा विगतका विरासत जोगाउने, केही स्थानमा नयाँ रेकर्ड कायम गर्न उम्मेदवार लागिपरेका छन् । केही क्षेत्रमा एउटै पार्टीका उम्मेदवार एकआपसमा भिडेका छन् भने केही स्थानमा गठबन्धनकै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।
काठमाडौंको ७ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धन एकातिर र अर्कातिर पूर्व सहकर्मी एक्लाएक्लै मैदानमा उत्रिएका छन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा अस्मितासिंह ‘मानुषी’ यमी भट्टराई छिन् । नेकपा एमालेका तर्फबाट श्याम घिमिरे छन् । काठमाडौंमा एमालेको सशक्त नेताका रूपमा अघि बढेका र अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका नेता रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोही क्षेत्रमा पूर्व एमाले नेता तथा हालका जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठको पनि उम्मेदवारी छ ।
उनीहरू राष्ट्रिय राजनीतिका परिरिचत व्यक्तित्व हुन् । श्रेष्ठ र मानन्धर पूर्वमन्त्री भइसकेका छन् ।
पहिलोपटक निर्वाचनमा होमिएकी यमी गठबन्धन दलहरूको पूर्ण समर्थन पाउनेमा विश्वस्त छिन् । घरदैलो अभियानका क्रममा मतदाताले दिएको हौसलाबाट आफू सहज जीतको पर्खाइमा रहेको उनको भनाइ छ । यसअघि सो क्षेत्रबाट विजयी भएका जनप्रतिनिधिसँग असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा पार्न उनी क्रियाशील छिन् ।
‘विगतका कुराबाट शिक्षा लिँदै म नयाँ युगको प्रतिनिधि पात्रका रूपमा अघि आएको छु,’ उनले भनिन्, ‘विगतका राम्रा कामलाई निरन्तरता दिने, गल्तीलाई नदोहोर्याउने र भविष्यलाई केन्द्रमा राखेर काम गर्नेछु ।’
संविधान निर्माणपछि नयाँ कानून निर्माण गर्नुपर्ने भए पनि अझै महत्त्वपूर्ण कानून बन्न बाँकी रहेकाले ती कानून निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । ‘सार्वजनिक निकाय प्रभावकारी छैनन्, तिनलाई सबल बनाउने र विद्यमान आर्थिक संकटलाई समाधान गरी स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नेछु,’ उनले भनिन् ।
विक्रम संवत् २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी विजयी भएकी थिइन् । निर्वाचित भएपछि नेताहरू आफ्नो क्षेत्र नफर्कने, मतदातासँग प्रत्यक्ष अन्तक्र्रिया नगर्ने विद्यमान प्रवृत्तिलाई चिर्दै उहाँले आफू निर्वाचित भएपछि आममतदातासँग सहज र सरल पहुँच कायम गर्ने प्रतिबद्धता व्यक्त गर्छिन् ।
एमाले उम्मेदवार श्याम घिमिरे सुखी नेपाली, समृद्ध नेपाल बनाउने उद्देश्यका साथ आफू निर्वाचनको मैदानमा उत्रिएको बताउँछन् । जनताको समस्या समाधानमा आफ्नो ध्यान जाने उनको भनाइ छ । ‘ऐतिहासिक शहरका रूपमा रहेको काठमाडौंको कला, संस्कृति र सम्पदालाई संरक्षण गर्ने नीति निर्माणमा लाग्नेछु,’ उनले भने, ‘३ तहको सरकारमार्फत जनअपेक्षा अनुसार विकास निर्माणका योजना सञ्चालन गरिनेछ ।’
घरदैलो अभियानका क्रममा मतदाताले देखाएको माया र सद्भावबाट आफू निकै उत्साहित भएको उनको भनाइ छ ।
काठमाडौंको ७ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता रामवीर मानन्धरले ‘रूपान्तरणको आधार सुशासन र सदाचार, भ्रष्टाचारमुक्त समाज’ नारा अघि सारेका छन् । सो क्षेत्रको समग्र विकासका लागि आफूले स्वन्त्ररूपमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
आफू अन्तिमपटक निर्वाचन लड्न लागेको स्पष्ट पार्दै उनले आगामी ५ वर्षभित्र यसअघि शुरू भएका काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो अन्तिम निर्वाचन भएकाले उनले सडक व्यवस्थापन, महिला सशक्तीकरण, उद्यमशील रोजगार, सम्पदा संरक्षण, गुणस्तरीय स्वास्थ्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिएका छन् ।
‘म २–२ पटक निर्वाचित भएर मन्त्री पनि भएँ, मैले शुरू गरेको विकासको अभियानबाट यहाँको मतदाता सन्तुष्ट हुनुहुन्छ,’ उनले भने ।
एमालेबाट छुट्टिएर जनता समाजवादी पार्टीमा लागेका नेता राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । एमाले र जसपाबीच केही निर्वाचन क्षेत्रमा तालमेल भए पनि सो क्षेत्रमा भने जसपा नेता श्रेष्ठ एक्लै चुनावी मैदानमा छन् ।
एमालेको आधिकारिक उम्मदेवार, एमाले नेता रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी सोही स्थानमा रहेको अवस्थामा जसपा नेता श्रेष्ठ एक्लो परेका छन् । – अशोक घिमिरे/रासस