
काठमाडौं, २५ साउन — रणवीर कपूरले सञ्जय दत्तको जीवनीमा आधारित फिल्मका लागि भव्य तयारी गरेको त कसैबाट लुकेको छैन । राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको फिल्ममा रणवीरले दत्तजस्तो देखिनका लागि भरमग्दुर कोशिश गरेका छन् ।

रणवीरले देक्कन क्रोनिकललाई अन्तर्वार्ता दिँदै सञ्जयका बारेमा अनपेक्षित टिप्पणी गरेका छन् । उनका अनुसार सञ्जयको जीवनका काला अध्यायहरूलाई ढाकछोप गर्ने प्रयत्न गरिएको छैन ।
उनले लागूऔषध पदार्थको प्रयोग गरेको, बम्बई बम आक्रमणमा उनी जोडिएर जेलयात्रा गरेको लगायतका कुरा सबैलाई थाहा छ । रणवीरका अनुसार फिल्म यथार्थसँग नजिक रहेको छ ।
‘यो जीवनीमार्फत सञ्जयले इमान्दारी देखाएका छन् । उनले गल्ती गरेको मानेका छन् । हामीहरू गान्धी जस्तो पात्र बनाइरहेका छैनौं । उनी ठग मान्छे थिए र हामीहरू ठग नै देखाउँदैछौं । उनलाई मानिसले मन पनि पराउँथे, घृणा पनि गर्थे । उनी विवादास्पद व्यक्ति हुन् र उनीमाथि इमान्दारीपूर्वक फिल्म बनाउनु साहसी काम हो,’ रणवीरले भने ।
सञ्जयको जीवनीमा आधारित फिल्म सन् २०१८ को मार्च ३० मा रिलिज हुँदैछ । फिल्ममा मनीषा कोइराला सञ्जयकी आमा नरगिस र परेश रावल सञ्जयका बुवा सुनिल दत्त बनेका छन् ।
एजेन्सी