
पछिल्लो समय गीतको सफलता मापनको पहिलो आधार युट्युबलाई मान्ने गरिएको छ ।
युट्युब ट्रेन्डिङमा आयो र राम्रो भ्युज पायो भने त्यो गीत सफल मानिन्छ ।
त्यस हिसाबमा हेर्ने हो भने पशुपति शर्माको पछिल्लो गीत ‘आफ्नो आफ्नो दुःख’ सफल भएको छ ।
भ्युज र ट्रेन्डिङका हिसाबमा मात्रै गीत सफल छैन, लामो समय ट्रेन्डिङको पहिलो स्थानमा कब्जा जमाईरहेको छ यस गीतले ।
यो गीत दुई सातादेखि युट्युबको नेपाल ट्रेन्डिङमा संगीततर्फ पहिलो नम्बरमा छ ।
दिनहूँ थुप्रै नयाँ/नयाँ गीत सार्वजनिक भइरहेको अवस्थामा निरन्तर दुई सातासम्म ट्रेन्डिङको पहिलो स्थानमा रहिरहनु सर्जकका लागि पनि एउटा सौभाग्य हो ।
लोकगायक पशुपति शर्माको आफ्नै शब्द, संगीत र स्वर रहेको गीत टिकटकमा समेत निकै चर्चामा छ ।
गीतको टुक्कामा एकैदिन २ लाख बढी टिकटक बनेको थियो ।
एकैदिन त्यति धेरै टिकटक बनेको सम्भवत पशुपतिकै पहिलो गीत हुनुपर्छ ।
पशुपति स्वयंमको अभिनय रहेको उक्त गीतले अहिलेसम्म युट्युबमा झण्डै ४२ लाख भ्युज पाइसकेको छ । युट्युबमा झण्डै ५ हजार कमेन्ट आएका छन् ।